कुनेगाउँ पहिरोको मृतक परिवारलाई ३ लाख ५० हजार प्रदान
निर्मल बस्नेत
१७ असोज, सेलाङ । गत शुक्रबार र शनिबार देशभरी नै अभिरल बर्षा भयो । उक्त बर्षाको कारण पहिरोले घर पुर्दा ज्यान गुमाएका जुगल गाउँपालिका–१ कुनेगाउँको मृतकका परिवारलाई क्षतिपूर्ति तीन लाख प्रदान गरिएको छ ।
बिहिबार जिल्ला बिपद् व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी किरण थापासहितको टोलीले पहिरोमा परि मृत्यु भएका जुगल–१ का चित्रबहादुर मिजारको परिवारलाई काजक्रिया गरिरहेकै स्थानमा पुगेर संघीय र प्रदेश सरकारको प्रावधानअनुरुप तीन लाख रुपैयाँ दिइएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।
थापाको नेतृत्वमा जुगल गापा अध्यक्ष रेशम स्याङ्बो, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्का, राष्ट्रिय अनुसन्धान कार्यालय प्रमुख राजन प्रजापति , वडाध्यक्ष जनक बहादुर तामाङ लगायतको उपस्थितिमा सहयोग प्रदान बताए ।
उनले भने “जुगल गाउँपालिका २ को तेगा बस्तीका पहिरो पीडित ५ परिवारको लागि हेलीमार्फत सोही स्थानमा पुगी २५ हजारका दरले १ लाख २५ हजार प्रदान गरिएको छ ।” अहिले ‘जुगल–१ कुनेगाउँका पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराएका छौं, ।
जुगल–१ कुनेगाँउकै पहिरोको कारणले विस्थापित भएका अन्य ३ घरपरिवारलाई बिपद् व्यवस्थापन र नेपाल रेडक्रश सोसाइटीबाट ब्ल्याङ्केट, डस्ना र भाँडाकुँडा सेट दिइएको छ । केही दिनअघि पहिरोले क्षतिग्रस्त घरबाट जुगल–१ कुनेगाँउवासी ४५ वर्षका चित्रबहादुर मिजार र एक पहिचान नखुलेका ५ वर्षे बालकको शव भेटिएको थियो ।
मृतक मिजारकी श्रीमती ४५ वर्षीया ठूलोकान्छी र जुगल–४ का २४ वर्षीय अविनाश नेपालीको अझै अवस्था अज्ञात छ । ‘बेपत्ता अविनाश ठूलीकान्छीको बहिनीको छोरा भएको खुलेको छ, मृतक बालक अविनाशकै छोरा हुन्, बेपत्ता दुवैको खोजी भइरहेको छ,’ प्रहरी उपरीक्षक सन्तोष खड्काले भने ।
सोही बखत जुगल गाउँपालिकाको तर्फबाट पनि ५० हजार रुपैयाँ मिजार परिवारलाई प्रदान गरिएको गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले जानकारी दिए । उनले बुधबार गाउँपालिकाले पनि आवश्यक भाँडावर्तन, लत्ताकपडा र खाद्यन्न उपलब्ध गाराईएको बताए ।