
अमेरिका बस्ने सिन्धुवासीद्वारा एसईईमा उत्कृष्ट हुने विद्यार्थीलाई नगद सहित सम्मान

असोज १७, काठमाडौं । सिन्धुपाल्चोकमा जन्मेर अमेरिका बसोवास गर्दै आईरहेकाहरुको संस्था सिन्धु सोसाईटीले माध्यमिक शिक्षा परिक्षा (एसईई) २०८० मा जिल्लावाट उत्कृष्ट हुने दुईलाई सम्मान गरेको छ । जिल्लाबाट परिक्षामा सामेल भएर उत्कृष्ट हुने एक छात्र र एक छात्रालाई सम्मान गरिएको हो । जिल्लाबाट एसइइ परिक्षामा सामेल भएर सर्वोत्कृष्ट अंक ल्याउने भूमेश्वरी माध्यमिक विद्यालयकी छात्रा नविना भण्डारी र ईश्ट पोइन्ट एकेडेमी गणेश जोतीलाई सम्मान गरिएको हो । जनही नगद ५१ हजार रुपैयाँसहित उनीहरुलाई सम्मान गरिएको सोसाईटीका अध्यक्ष सूर्य खड्काले बताए ।
काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बेदबहादुर श्रेष्ठ लगायतले विद्यार्थीलाई सम्मान गरेका हुन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ सहआयोजक रहेको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले शैक्षिक सुधारमा सोसाईटी गरेको कामको प्रशंसा गरेका थिए । सोही कार्यक्रममा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष होमवहादुर बस्नेत (राजकुमार), नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेत लगायतका व्यक्तिले सोसाईटीको शैक्षिक कार्यक्रम उत्कृष्ट रहेको बताएका थिए ।
२०१० मा स्थापना भएको संस्थाले सुरुवातदेखि नै सिन्धुपाल्चोकका जेहेन्दार तथा अशक्त, असहाय विद्यार्थीहरुलाई निशुल्क पढाईरहेको छ । जिल्लामा भईपरी आउने अन्य दुःखमा पनि सेवा गरिरहेको छ ।
२०७२ को विनाशकारी भुकम्पले सिन्धुपाल्चोकमा धेरै असर भयो । धेरै जनधन क्षति भयो । धेरै बालबालिका टुहुरा भए । उनीहरुलाई पालनपोषण गर्ने र शैक्षिक सेवा दिने उद्देश्यले निशुल्क शिक्षाको अभियान सुरु गरिएको संस्थापक अध्यक्ष बंशलाल तामाङ्गले जानकारी दिए । सुरुमा सात जना विद्यार्थी काठमाडौं ल्याएर आवासीय सुबिधासहित पढाएको संस्थाले अहिले २७ जना विद्यार्थीलाई निशुल्क पढाईरहेको छ । मुख्यतः जेहेन्दार, अशक्त असहाय विद्यार्थीलाई पहिलो प्राथमितामा राखिएको छ । अध्यक्ष खड्काका अनुसार सुरुमा एकजना विद्यार्थी पढाउने जिम्मा लिने व्यक्ति अमेरिकामा खोजी हुन्छ । विद्यार्थीको सबै पक्ष हेरेपछि निर्णय हुन्छ । सुरुमा त्यस्ता बालबालिकाको निवेदन नेपालका प्रतिनिधिसँग आएका हुन्छन् ।
पहिलो प्राथमिकता बाबुआमा नभएका असहाय र गरिवलाई राखिएको छ । दोस्रोमा बाबु अथवा आमा नभएका गरिव तथा पढ्न नपाएको अवस्थामा रहेका बालबालिकालाई राखिएको छ । एकजना ‘स्पोन्सर’ले एकजना विद्यार्थीलाई खान, बस्न र पढ्नका लागि १२ कक्षासम्म व्यवस्था गरिदिने व्यवस्था सोसाईटी मिलाएको छ ।
केही बर्षदेखि सिन्धुपाल्चोक जिल्लाबाट माध्यमिक शिक्षा परिक्षामा उत्कृष्ट स्थान हाँसिल गर्ने विद्यार्थीलाई नगदसहित सम्मान गर्ने क्रम सुरु गरिएको हो । सोसाईटीको शैक्षिक अभियानमा साथ दिएर बालबालिका पढ्न सहयोग गर्ने क्षमादेवी ग्रुपका अध्यक्ष राजकुमार बस्नेत, ब्ल्याक हर्ष सुजका अध्यक्ष चीनवहादुर श्रेष्ठ, ईलेक्ट्रो पावरका अध्यक्ष मोहनबिक्रम कार्की, हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेत, प्रगति बोर्डिग स्कुल, चण्डेश्वरी स्कुल र दलबहादुर रुम्वालाई सम्मान गरिएको थियो ।