
सिन्धुपाल्चोकमा समाजवादी मोर्चा घोषणा, ९ सदस्यीय मोर्चा गठन

दिनेश दुलाल
१०, चौतारा । सरकार बाहिर रहेका देशका ३ कम्युनिस्ट पार्टीहरूले सिन्धुपाल्चोकमा समाजवादी मोर्चा घोषणा गरेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा सम्मिलित तीन पार्टीले आज सदरमुकाम चौतारामा यस्तो घोषणा गरेका हुन् । नेपाल पत्रकार माहासंघको सभाहलमा गरिएको समाजवादी मोर्चा घोषणा संगै ९ सदस्यीय मोर्चा समेत गठन गरिएको छ । मेर्चामा नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक गोविन्द पराजुलीको संयोजकत्वमा, सदस्यहरु गोविन्द खनाल, सोनाम सि, चन्द्रप्रसाद सापकोटा, कुमार राज घतानी, मोहन विक ‘सविन सि’, अम्विका नेपाल, मानकुमार खत्री र युगिन सि रहेका छन् । समाजवादी मोर्चा घोषणा तथा गठनको शुभराम्भ नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटाले बाचन गरेर गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि कृष्णप्रसाद सापकोटाले निर्वाचनमा भाग लिएका र नलिएकाहरू बीच समाजवादी मोर्चा घोषणा गरिएको बताए । समाजवादी उद्देश्य पूरा गर्ने उद्देश्य अनुसार राजनैतिक लक्ष्य कायम गर्न र विचारमा एकरूपता ल्याउनको लागि यो मोर्चाको आवश्यकता रहेको औंल्याए । सिन्धुपाल्चोक जिल्लामा यसको सुरूवात भएको बताउँदै उनले भविश्यमा पार्टी पनि एउटै बनाउने र समाजवादी पक्षधरहरूलाई गोलबन्द गर्दै लैजाने योजना सुनाए ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्रका जिल्ला ईन्चार्ज केशव नेपालले मोर्चाले सातै प्रदेशमा प्रशिक्षण तथा संघर्षका कार्यक्रम सुरू गरिने जानकारी दिए । त्यस्तै नेकपा (एकीकृत समाजवादी) की पोलिटव्युरो सदस्य भगवती नेपालले समाजवादी मोर्चा बागमती प्रदेश अन्र्तगत सिन्धुपाल्चोकमा बनेको समाजवादी मोर्चा ११ औं घोषणा भएको जानकारी दिईन । उनका अनुसार हाल मोर्चाको संरचना केन्द्र, प्रदेश र जिल्ला तह सम्म मात्रै बन्नेछ । मोर्चाले गर्ने संघर्षका कार्यक्रम सडक र सदन दुवैमा हुनेछ । तीन दलीय सम्मिलित मोर्चाको नेतृत्व आलोपालो अर्थात ४–४ महिनमा फेरबदल समझदारी भएको उनले जानकारी दिईन ।
नेकपाका सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज युगिन सि ले नेपालमा रहेका दलाल पूँजिवादका विरुद्व राष्ट्रिय स्वतन्त्र र स्वाभिमानका निम्ति क्रान्तिकारी चेत भएका कम्युनिस्ट पार्टी बीच समाजवादी मोर्चा घोषणा गरिएको बताए । कार्यक्रममा तीनै दलका नेता तथा कार्यकर्ता र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । सञ्चारकर्मीहरुले राखेको जिज्ञासाका सन्दर्भमा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज केशव नेपाल, एकीकृत समाजवादीकी नेतृ भगवती नेपाल र नेकपाका किरण सी ले जवाफ दिएका थिए ।
मोर्चाले तय गरेको उद्देश्य तथा नीतिगत प्रतिवद्वताहरुमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दैै नेपाली समाजवादका विशेषताहरु पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने लगाएत ६ वुँदे प्रतिवद्वताहरु उल्लेख गरिएको छ ।
स्मरण रहोस गत साल मात्रै राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताले मोर्चा घोषणा गरेका थिए । जनता समाजवादी पार्टी नेपाल भने मोर्चाबाट बाहिरिएको छ ।