चौतारा अस्पतालमा डायलासिस सुचारु, पहिलो दिन शर्मिलाले लिईन सेवा

निर्मल बस्नेत
६ असोज, चौतारा । सिन्धुपाल्चोकको चौतारामा रहेको प्रादेशिक अस्पताल चौतारा अस्पतालले डायलासिसको सेवा सुचारु गरेको छ । आइतबार पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले एक कार्यक्रमका बिच उक्त सेवाको सुभारम्भ गरेका हुन् ।

सेवा सुचारु गरेकै दिन चौतारा सागाचोकगढी नगरपालिका ५ की ४५ बर्षीय शर्मिला तामाङले सेवा लिएकी छिन् ।
तामाङ ७ बर्षअघिदेखी नै मृगौलाको रोगका कारण राजधानी काठ्माण्डौमा हप्ताको २ पटकसम्म धाएर डाइलसिस गराउदै आएकी थिइन् । उनि भन्छिन् “हप्ताको २ पटक म र मरो साथमा जाने व्यक्तिको गरि एक पटकमै ४ हजार भन्दा बढि खर्च हुने गरेको थियो । अव काठ्माण्डौ धाउन नपर्ने भयो ।”
घरछेउमै सेवा लिन पाएपछि उनको खर्चको कटौती भएको छ । यता परिवारको अर्को सदस्यको पनि समयको बचत भएको छ । अस्पतालले सुरु गरेको सेवाको लागि डाक्टर सरोज श्रेष्ठको साथमा ३ जना स्वास्थ्यकर्मीहरु खटिने अस्पतालले जनाएको छ । डाक्टर श्रेष्ठ भने सिन्धुबासी नै हुन् । उनले शहीद धर्मभक्त ट्रान्सप्लान्ट सेन्टरबाट तालिम लिएर आएको सिन्धुज्वालासंग बताए ।

३ महिना अघिमात्र छिमेकी राष्ट्र चीन सरकारको सहयोगमा सुविधासम्पन्न भवन निर्माण भएको भवनबाट जनरल सेवा प्रवाह थालेको थियोे । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले गत जेठ महिनामा भवनको उद्घाटन गरेका थिए । उद्घाटन तथा हस्तान्तरण पहिले नैे भए पनि अस्पतालको नियमित सेवा सो भवनबाट केेेहि समय अघिमात्र सुरु गरिएको थियो ।

अस्पतालको भवन वि.सं २०७२ को भुकम्पले ध्वस्त भएपछि प्रि फाइभ अस्थाई भवनबाट सेवा दिदै आइरहेको थियो । सुरुमा १५ शैयाको चौतारा अस्पताल प्रादेशिक अस्पताल भएसंगै ५० शैयामा स्तरोन्नती भएको छ । २०८० पुस ३ गते बागमती प्रदेश सरकार मन्त्रिपरिषद तथा स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार ५० बेडमा अस्पताललाई विस्तार गरिएको थियो । पहिले रेफर सेन्टरको रुपमा चिनिदै आएको अस्पताल अहिले अस्पताल राजधानीको अस्पतालको झल्को दिने खालको बनेको छ । विरामीले सबै सेवा एउटै भवनबाट लिन सकिने भएको छ ।

अस्पताल प्रवेश गर्ने वित्तिकै सवारी पार्किङ सुविधा, क्षयरोगको औषधी वितरण स्थल, खोप लगाउने क्लिनिक, इमर्जेन्सी सेवा, फार्मेसी, सामाजिक सेवा ईकाई, स्वास्थ्य विमा सेवा लिने ठाउँहरु देख्न सकिन्छ । साथै विरामीले पालो कुर्ने ठाउँ पनि ब्यवस्था रहेको छ ।

अस्पतालले नियमित सेवाहरु जनरल ओपीडी, हाडजोर्नी, दन्तसेवा, लगायतका सेवाहरु दिइरहेको चौतारा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रुद्रमणि भण्डारीले बताए । भण्डारीका अनुसार अस्पतालबाट सेवा लिनेहरुमा महिला तथा प्रसुती सेवामा बढी सन्तुष्ठ रहेको छ । दुई वटा विशेषज्ञ सेवा पनि छ । पहिलाको तुलनामा सेवा लिनेहरु वृद्धि भएको र तथ्यांक हेर्दा महिनामा ३ हजार भन्दा बढीले ओपीडी सेवा लिएका छन् । अस्पताल ब्यवस्थित भवनमा सारे संगै गुणस्तरीय सेवा दिन काम भइरहेको डाक्टर भण्डारीले बताए ।

उनका अनुसार विशेषज्ञ डाक्टर सहित ६३ जनाको दरबन्दी रहेको छ । अहिले कार्यरत डाक्टरहरु १४ जना छन् । दरबन्दी पूर्ति भएमा अस्पतालबाट दिने सेवामा थप सुधार हुने विश्वास डाक्टर भण्डारीले ब्यक्त गरे । हाललाई थाइ दरबन्दी अन्तरगत करारमा परिपुर्ती गरिदै आएको भण्डारीले बताए । जनताको विश्वास र जनभावनालाई ध्यानमा राखि अस्पतालबाट प्रवाह भइरहेको सेवालाई अझ चुस्तदुरुस्त रुपमा लैजाने बताउदै यसमा सवैलाई सहयोग गर्न पनि आग्रह गरे ।

अस्पतालले नयाँ भवनबाट सेवा दिन थालेसंगै स्वास्थ्य उपचार सेवा पनि पहिला भन्दा सुधार हुने नागरिकले आशा गरेका छन् । स्थानियले स्वास्थ्य उपचारका लागि जटिल भन्दा जटिल बाहेक राजधानी धाउनुपर्ने बाध्यता कम हुदै गएको देखिन्छ । पछिल्लो समय दैनिक ३० दखी ४० जनाले फिजियोथेरापी सेवा पनि लिने गरेको अस्पतालले जनाएको छ ।

अस्पतालले स्वास्थ्यकर्मीहरुको उत्प्रेरणाको लागि मासिक उत्कृष्ठ कर्मचारी सम्मान कार्यक्रम अघि बढाएको छ । यसैक्रममा अस्पतालमा कार्यारत कार्यालय सहयोगी जीत बहादुर तामाङ साउन महिनामा रडाक्टर रोशन चौधरी भाद्र महिनाको उत्कृष्ठ कर्मचारीको रुपमा छनोट भई सम्मानित भएका छन् ।

उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि मोहन बहादुर बस्नेतको हातबाट सम्मानपत्र प्रदान गरि अस्पलालले सम्मान गरेको हो । कार्यक्रममा सधाभन्दा स्वास्थ्यकर्मीहरु पनि खुसी देखिएका थिए । अस्पतालमा आएका एक सेवाग्राहीले भने “अस्पतालले स्वास्थ्यकर्मीको मनोवल उच्च हुने यस्तै खुसी र सन्तुष्ठ हुने वातावरण बनाईराख्न सके बिमारीहरुले पनि प्रभावकारी रुपमा सेवा लिन पाउने थिए । ”