
जलबिरेमा महिलाकाे हत्या गर्ने पक्राउ

निर्मल बस्नेत
३१ भाद्र, चौतारा, सिन्धुपाल्चोक । बलेफी गाउँपालिका १ मेलडाँडा घरबाटै हराएकी भनिएकी महिलाको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।
भाद्र २५ राती मिलडाँडाबाट हराएकी ५७ वर्षिय धनमाया श्रेष्ठको शब भदौ २७ गते दिउँसो सुनकोशी नदीमा फेला परेको हो । शव पोस्टमार्टमका लागि टिचिङ अस्पतालको फरेन्सिक मेडिसिन विभाग पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सोमबार पत्रकार सम्मेलन मार्फत जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले घट्काका अभियुक्त गाहलाई सार्वजनिक गरेको छ ।
उपरीक्षक खड्काको अनुसार भदौ २६ गते इलाका प्रहरी कार्यालय जलवीरेमा धनमाया हराएको मौखिक सूचना आएको थियो । भोलिपल्ट उनको छोरीले खोजतलासका लागि निवेदन दिएपछि धनमायाको खोजी सुरु गरेको थियो ।
हत्याको आरोपमा गुल्मी कालिगण्डकी गाँउपालिका ४ ठेगाना भई हाल रुपेन्देहिको सैनामैना नगरपालिका ९ बस्ने रन बहादुर गाहालाई पक्राउ गरीएको छ । गाहा तल्लो बलेफी हाइड्रोपावरमा मजदुरको रुपमा कार्यरत रहेको प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।
उनका अनुसार अनुसन्धानका क्रममा धनमायाको परिवारसँग सम्पर्क गरेर भदौ ३० गते शवको पहिचान खुल्यो ।
शंकाको आधारमा नियन्त्रणमा लिएका रनबहादुरसँग सोधपुछ गर्दा उनले धनमायाकै घरमा उनीसहित म र उनका छोरा कमलदास घरेलु मदिरा सेवन गर्दै थियौं, मदिरा सकियो खाँदाखाँदै । थप मदिरा लिएर म धनमायाको घरमा पुगें त्यतिबेला कमलदास आफ्नै घर फर्किसकेका रहेछन् । म र धनमाया थप मदिरा पिउने क्रममा विवाद भयो । धनमाया घर बाहिर निस्किइन् । धनमाया घर बाहिर निस्किएपछि तान्दै गर्दा घाँटीमा लगाएको माला, पोते चुँडिएको र लखेट्दै जाँदा ब्रम्हायणी खोलाको डिलमा भेटेपछि खोलामा घचेडी दिएँको प्रहरी समक्ष बयान दिएका छन ।
प्रहरीका अनुसार रन बहादुर र धनमायाका छोरा कमलदास साथी–साथी हुन् । उनीहरु प्रायजसो चिया खाजा, खाना अनि मदिरा सँगै खाने गर्दथे । त्यसदिन तीन जनाले सँगै पिएको अनुसन्धानबाट खुलेको छ ।
हत्याको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।