१८ बर्ष देखि सरकारी विद्यालयको स्वामित्व व्यक्तिको नाममा
भदौ २१, बलेफी । चौतारा साँगाचोकगढी नगरपालिका–९, भैंसेमा रहेको पाँचकन्या आधारभूत विद्यालय २०६३ सालमा स्थापना गरिएको सरकारी विद्यालय हो । स्थानीय समाजसेवी हरिशरण गिरीको पहलमा बनेको ५ कोठे भवन विदेशी संस्था नेपाल किड्सले २०६३ सालमा निर्माण गरिएको हो । विद्यालयको लागि जग्गा खरिद समेत समाजसेवी गिरीले आफ्नै नाममा गरेका थिए । कक्षा ३ सम्म पढाई हुने उक्त विद्यालयलाई सामुदायिक विद्यालयमा दर्ता गरेपछि गिरी २०६३ साल देखिनै विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष छन् ।
सरकारी कोटाबाटै त्याहाँ शिक्षक दरबन्दी दुईजनाको रहेको छ । त्यस्तै बालबिकास १ र कार्यालय १ गरी चारजनाले सरकारकारी तलब बुझ्छन् । तर विद्यालयको जग्गाको स्वामित्व भने आजसम्म व्यक्तिकै नाममा रहेको छ । २०७२ को भूकम्पका कारण विद्यालय पूर्ण रुपमा क्षति भएका सिन्धुपाल्चोकका २ सय भन्द बढि विद्यालयको पुननिर्माण भईसक्दा पाँचकन्याको भने मुहार फेरिन सकेन । विद्यालय भवन भूकम्प अघि नै बनाईएकोले भूकम्पको कारण कमजोर छ । विद्यालयका कक्षा कोठा समेत निकै साना भएकोले पढाउन समेत समस्या भएको विद्यालयकी प्रध्यानध्यापक सुनिता नेपालले बताउँछिन । उनका अनुसार सो विद्यालयमा सिमान्तकृत माझी समुदायका बालबिकास १०, केजीमा ९, १ कक्षामा ६, २ मा ६ र ३ मा ७ समेत छात्र २० छात्रा १८ गरी जम्मा ३८ जना बालबालिका अध्ययन गर्छन । प्रअ सुनिता र शिक्षिका प्रभा खड्का राहत कोटामा छन भने बालबिकासमा सावित्र श्रेष्ठ र कार्यालय सहयोगीका रुपमा सीता माझी रहेकी छिन् ।
विद्यालयले नेपाल सरकारबाट बर्षको ५० मा छात्रवृति, पाठ्य पुस्तक, सामाजिक परिक्षण, स्टेशनरी लगाएतमा प्रशासन खर्च वापत आउने गरेकोमा निकै मुश्किलले विद्यालय चलेको उनले सुुनाईन । उनका अनुसार बालबालिकालाई खाजा भने नगरपालिकाले खुवाउँछ ।
प्रअ नेपालका अनुसार जग्गा विद्यालय बनेको ६ आना जग्गा व्यवस्थापन समितिका अध्यक्ष हरिशरण गिरीको नाममा कायम छ । विगत १८ बर्ष देखि विव्यस अध्यक्ष रहेका गिरीको ३ बर्षको अन्तिम कार्यकाल ३ कात्तिकमा पूरा हुँदैछ । विद्यालय ६ आनामा बनेकाले बालबालिकालाई खेलकुद मैदान समेत नहुँदा सार्वजनिक ठाउँ प्रयोग गर्नु परेको उनले सुनाईन ।
आफूले विव्यस अध्यक्षलाई पटक–पटक विद्यालयको नाममा उक्त जग्गा सार्न आग्रह गरेकोमा गिरीबाट हस्तान्तरण गर्छु भनेर आश्वासन पाएको प्रअ नेपालको भनाई छ । विद्यालयको नाममा जग्गा पास गरेर फराकिलो ठाउँममा विद्यालय बनाउन समेत आफूले सझाउँदा कार्यान्यन हुन नसकेको विद्यालय शिक्षक तथा अभिभावक संघका अध्यक्ष गोपाल श्रेष्ठले बताए ।
आफूले यसबारेमा जानकारी लिंदा विव्यस अध्यक्ष गिरीबाट सकरात्मक जवाफ पाएको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष विमल श्रेष्ठले बताए । यस सन्दर्भमा विव्यस अध्यक्ष गिरीसंग बुझ्दा उनले उपयुक्त समयमा विद्यालयको नाममा जग्गा हस्तान्तरण गर्ने प्रतिक्रिया दिए ।