
व्युटिफूल क्याफेमा बनेको कफीको मज्जा नै बेग्लै !

दिनेश दुलाल
भदौ ११, सुकुटे । सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र सुकुटे बजारको बीचमा सानो एउटा क्याफे खोलिएको छ । ‘व्युटिफूल क्याफे’ नाम दिएर खोलिएको उक्त क्याफेमा म.म., सेकुवा, बर्गर, पिँजा वा अन्य परिकारको लागि भने खोलिएको होईन । सिरिफ कफीको लागि मात्र खोलिएको हो ।
भर्खर खोलिएको कफी सपमा आएका आगन्तुकहरु माझ कफी लिएर एक गृहिणी आउँछिन् । हँसिलो मुहारसंगै मिठो बोलीले पाहुनाको सत्कार गरेकी ति गृहणी कफी सपमा काम गर्ने सामन्य कामदार भने होईनन । उनी हुन सिन्धुपाल्चोककी चेली मन्दु थापा । उनी सिन्धुपाल्चोक कफी सहकारी संघकी अध्यक्ष समेत हुन् । उनी अध्यक्ष रहेको कफी सहकारी संघले नै सुकटेमा व्युटिफूल क्याफे नाम दिएर कफी सप खोलेको हो । उक्त कफी सपको सोमबार मात्रै उदघाटन गरिएको थियो ।
आफ्नै संघले उत्पादन गरेको अर्गानिक कफीलाई स्थानीय तथा घुम्न आउने पर्यटकलाई स्वादिलो चखाएर कफीलाई स्थानीय तहमै खपत गराउने उद्देश्यका साथ कफी सप खोलिएको अध्यक्ष थापा बताउँछिन् । ‘यहाँको कफी बरु विदेशीहरु सबैले खाईसके हामी नेपालीले स्वाद नै पाएका छैनौं’, मन्दुले भनिन । व्युटिफूल क्याफेमा स्वादिलो कफी खुवाउनुका साथै ब्रान्डिङ गरेर त्याँहि उत्पादित कफी बिक्री समेत गरिने उनले जानकारी दिईन । सिन्धुपाल्चोकमा उत्पादित कफीलाई पर्यटनसंग जोडर व्यवसाय गर्न सुझाएको सिन्धु–सुकुटे पर्यटन व्यवसायी संघकाका अध्यक्ष महेन्द्रसिं थापा बताउँछन् । ब्रान्डिङ गरेको कफीलाई सुकुटे आसपास रहेका सबै होटल तथा रिसोर्टहरुमा समेत पु¥याईने होटल व्यवसायी तथा सिन्धु–सुकुटे पर्यटन व्यवसायी संघका सचिव कृष्ण सापकोटाले बताए ।
उसोत सिन्धुपाल्चोकमा उत्पादित अर्गानिक कफीमा विदेशी चासो बढेसँगै किसानले व्यावसायिक खेती सुरु गरेका छन् । जिल्लामा उत्पादित कफीको गुणस्तर भएपछि जापान, कोरिया र जर्मनीमा व्यापारीले निर्यात गर्न थालेका छन् । आउँदो सिजनमा उत्पादन हुने कफीका लागि विदेशीले ‘बुकिङ’ गरिसकेको मन्दुको भनाई छ ।
उनका अनुसार पन्ध्र वर्षदेखि जिल्लाका केही भागमा सुरु गरिएको कफीखेती अहिले ३२ गाउँमा विस्तार भइसकेको छ । जिल्लाका विकट गाउँमा उत्पादित अर्गानिक कफीले अन्तर्राष्ट्रिय बजारमा उच्च माग पाएपछि व्यवसाय लागत अनुसार मूल्य पाउन सकिएको उनको भनाई छ ।
अन्तर्राष्ट्रिय बजार र नेपालका ठूला सहरमा निर्यात हुन थालेपछि किसानले ६४ कफी उत्पादन समूह गठन गरिसकेका छन् । अध्यक्ष मन्दुका अनुसार सिन्धुपाल्चोकका किसानले वार्षिक एक करोड रुपैयाँभन्दा बढी कफीबाट रकम भित्र्याउँदै आएका छन् । उत्पादित कफीको माग बढ्न थालेपछि उत्पादनस्थलमै प्रशोधन गर्न प्रशोधन केन्द्र स्थापना गरिएको छ । किसानले तयार गरेको पार्चमेन्ट संघ आफैंले ल्याएर प्रशोधन गरेको कफीको रुपमा बिक्री गर्ने गरिएको मन्दु बताउँछिन् ।