इन्द्रावती गाँउपालिका देशकै दोस्रो उत्कृष्ट गाउँपालिका घोषित

भदौ ७, चौतारा । सिन्धुपाल्चोक जिल्लामा रहेको इन्द्रावती गाउँपालिका देशकै दोस्रो उत्कृष्ट गाउँपालिका घोषित हुन सफल भएको छ ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा इन्द्रावती गाउँपालिका देशभरकै दोश्रो स्थान हाँसिल गर्न सफल भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको ‘स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकनमा इन्द्रावती गाउँपालिका दोस्रो भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार देशभरकै स्थानीय तह अन्तर्गत ४ सय ६० गाउँपालिका मध्य इन्द्रावतीले द्वितीय स्थान हासिल गरेको छ । त्यस्तै कुल ७ सय ५३ स्थानय तह मध्य ५ औं स्थान हाँसिल गर्न सफल भएको हाे ।

देशभरका गाँउपालिकाहरुको तर्फबाट धादिङको बेनिघाट रोराङ गाउँपालिकाले ८७.२५ अंक ल्याएर प्रथम भएको छ । गुल्मीको रुरुक्षेत्र र सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले समान ८७ अंक ल्याएर दोश्रो भएका हुन् ।

यस्तै नगरपालिका तर्फ धादिङको नीलकण्ठ नगरपालिका ९२.५ अंक सहित प्रथम, रुपन्देही तिलोत्तमा ९२ अंक सहित द्वितीय र चितवनको रत्ननगर नगरपालिका ९१.५० अंक सहित तेस्रो भएको छ ।

विभिन्न १० वटा शीर्षकलाई आधार मानेर स्थानीय तहमा देखिएका समस्या समाधान गरी थप जिम्मेवार बनाई सेवाप्रवाह प्रभावकारी बनाउने विशेष उद्देश्यका साथ स्थानीय तह स्वमूल्यांकन (लिजा) प्रणाली कार्यान्वयनमा ल्याइएको हो ।

स्थानीय तहले संस्थागत संरचना र क्षमता विकासको अवस्था, पारदर्शिता, जवाफदेहिता, बेरुजुको अवस्था र सुशासनको अवस्थाका आधारमा आफ्नो मूल्यांकन गर्ने गरी विभिन्न सूचक निर्धारण गरिएको छ ।