
बालअधिकारको स्रोत र हाम्रो अभ्यास

समाजको वास्तविक स्वरूप भनेको त्यसको विगतका अभ्यासहरूको परिमार्जित एवं नविन अवस्था हो । कुनै पनि समाजको उन्नतिका लागि योजना निर्माण गरिरहँदा त्यस समाजको चरित्र र स्वरूपलाई राम्ररी बुझ्न पर्ने हुन्छ । त्यसैले आजको समाजलाई राम्रोसँग बुझ्न त्यसको विगतसम्म पुग्नु र त्यसलाई राम्रोसँग अध्ययन गर्नुपर्ने हुन्छ ।
बालअधिकार अभियन्ता
मान्छेका विकासमा उसका पुर्वजका आनीबानी, ब्यवहार प्रथा र परम्पराको ठूलो प्रभाव रहेको हुन्छ । त्यसै परम्परा समातेर मान्छेका स्वभाव र अभ्यासहरू बनेका हुन्छन् । समाज अगाडि बढदै जाने क्रममा ती अभ्यास नै चलन बन्छ, चलन परम्परा हुँदै प्रथा बन्छ । प्रथाअनुकूल समाजको संस्कृति निर्माण भएको हुन्छ । जुन संस्कृतिमा हुर्केको हुन्छ मान्छेका संस्कार त्यसै अनुरूप विकास भएको हुन्छ ।
सबै समाजमा असल र खराब परम्परा हुन्छन् । सुसंस्कृत र सुदृृढ समाजको निर्माणका लागि त्यस समाजका विगतलाई जान्नु, केलाउनु र त्यसका सकारात्मक अभ्यासहरू अर्थात् असल परम्परालाई युगअनुकूल परिमार्जन गर्दै जीवनपद्दतिमा ढाल्न प्रयास गर्नु पर्ने हुन्छ । खराव परम्परालाई सकेसम्म छाड्दै त्यसका ठाउँमा असल अभ्यासहरूलाई अपनाउँदै जान सकेमा त्यो समाज सुसंकृत र सभ्य बन्दै जाने हुन्छ । मानवसमाज विकास क्रमको लामो इतिहास यसरी नै निर्माण भएको हो । यो शाश्वत अभ्यासले भविश्यमा पनि निरन्तरता पाउँदै जाने र मानव समाजको समुन्नति हुँदै परिश्करण सहितको समुन्नत समाज निर्माण हुने विश्वास राखिएको हुन्छ । यो नै समाजप्रतिको सकारात्मक दृष्टिकोण हो ।
यसैले हामीले हाम्रा सबै समुदायका विगतको खोजी गर्नु, त्यसको अध्ययन गर्नु र सकारात्मक अभ्यासको परिस्कारयुक्त अनुशीलन गर्न सक्नु पर्दछ । हाम्रो वैदिक परम्परामा बालबालिकाको स्थान र त्यसले समाज विकासमा पारेका प्रभाव र प्राप्तिका विभिन्न आयामहरूको विशद अध्ययन हुनु जरुरी हुन्छ । यस अभ्यासका क्रममा हाम्रो समाजको बालबालिकाप्रतिको विगतको दृष्टिकोण र परम्परागत अभ्यासका असल पक्षलाई गरिमाका साथ ग्रहण गर्नुका साथै हाम्रा कतिपय अभ्यासहरुलाई परिमार्जन गर्नुपर्ने हुन्छ । यस सामाजिक उपक्रमको निरन्तरताका लागि गम्भीर अध्ययनहरू गरियुन र समाजको समुन्नतिमा सान्दर्भिक प्रयासहरू हुँदैजाउन् भन्ने सदाशय हामीले राख्नुपर्ने हुन्छ ।
हाम्रो वैदिक परम्परामा बालबालिकाको स्थान र त्यसले समाज विकासमा पारेका प्रभाव र प्राप्तिका विभिन्न आयामहरूको विशद अध्ययन हुनु जरुरी हुन्छ ।
वैदिक काल, पौराणिक काल र प्राग्ऐतिहासिक कालका प्रयोग, परिशीलन त्यसका आधारमा श्रुति परम्परा चल्दै आएर पछि ऐतिहासिक कालमा लेखिएका त्यस कालका साहित्यहरूलाई अधिकारमुखी दृष्टिले नियालेर, तिनै सन्दर्भहरू टिपेर त्यसका अन्तर्निहित भावहरू केलाउँदा त्यसको सार संक्षेप निम्नअनुसार रहेको छ ।
क. वैदिक कालमा बालबालिकाहरूको सर्बतोमूखि विकास तथा समुन्नतिलाई पर्याप्त ध्यान दिइएको पाइन्छ ।
ख. बालबालिकाको उचित सम्मान गर्ने उनीहरूलाई देवदेवीका रूपमा ग्रहण गरेर पूजा गर्नेसम्मका प्रथाहरूको स्थापना र परिचालन गरेको पाइन्छ ।
ग. बालबालिकाका हठ, चञ्चलता र स्वेच्छाचारितालाई पनि समाजले सहजताका साथ स्वीकार गरी बालापनको सम्मान र संरक्षण गरेका धेरै उदाहरणहरू पनि पाइन्छन् ।
घ.वैदिक कालभन्दा पछिल्लो अवस्था याने सामन्ती राज्यसत्ताका समृद्ध अवस्थामा हिन्दू विधिविधानहरूका मनुस्मृति लगायतका स्मृतिहरूका माध्यमबाट अनेकानेक प्रथाहरू पनि प्रारम्भ भएका र बाल बिवाह, बालक र बालिकामाथिका बिभेद लगायतका विकृति बिशङ्गतिहरू सुरु भएको पाइन्छ ।
ङ.बालबालिकालाई माया प्रेम, स्नेह वात्सल्य प्रदान गरिएको तर त्यसलाई उनीहरूको हक र अधिकारका रूपमा लिने, व्यख्या गर्ने र अभिलेखिकरणको कुनै व्यवस्था भने नभएको देखिन्छ ।
माथि यस आलेखको प्राक्कथनमा नै कुनै पनि परम्परा र त्यसले निर्माण गरेका संस्कृतिका सकारात्मक र नकारात्मक सन्दर्भहरू र त्यसको अनुशीलन गर्ने अभ्यास हुनु जरुरी भएको चर्चा गरिएको छ । त्यसैको प्रकटिकरणका रुपमा यहाँ केही बुँदागत रुपमा प्रस्तुत गर्न प्रयास गरिएको छ ः
१. परम्पराका असल अभ्यासको अनुशीलन ः
आज हामी मानवजीवनका धेरै सन्दर्भहरुलाई अधिकारका आँखाले हेर्ने, अधिकारमुखी अभ्यासबाट पर्गेल्ने र त्यसै आधारमा प्रयोग र परिशीलन गर्ने गर्दछौँ । हाम्रो विगतले तिनै अभ्यासहरुलाई सेवा, कल्याण र कर्तव्यका रुपमा प्रयोग र परिचालन गर्दथ्यो । तिनै असल कर्महरुलाई आचार, विचार र धर्मका रुपमा व्याख्या र प्रयोग गरिने गर्दथ्यो ।
कुनै पनि परम्पराका असल अभ्यासहरू हुने गर्दछन् । हाम्रो वैदिक परम्परामा पनि बालबालिकाका सवालमा असल अभ्यासहरू रहेका यथार्थलाई हामीले पाएका छौँं र यसै अध्ययनबाट पनि धेरै सन्दर्भहरू उजागर भएका छन् । गर्भावस्थादेखि नै बालबालिकाको पक्षपातरहीत ढङ्गबाट गरिने संरक्षण, शिक्षा, स्वास्थ्य, पोषण लगायतका उनीहरूका विकासमा समुचित ध्यान पु¥याइएका असल अभ्यासहरूलाई युगानुकूल परिमार्जन गर्दै कार्यान्वयनका साथ असल अभ्यासहरूलाई मलजल गर्ने र जीवनमूखी अभ्यासहरूको अनुसरण गर्ने कुरा यत्रतत्र छन् । बालबालिकालाई सुन्ने र उनीहरूका भावनाको कदर गर्ने हाम्रा परम्परामा रहेका असल अभ्यासलाई हाम्रा पूर्वीय आदर्शका रूपमा उजागर गर्ने, संसारलाई जानकारी गराउने र तदनुकूलका नीति कार्यान्वयन र व्यवहारहरूको स्थापनामा समुदायदेखि राज्यतहसम्मको क्रियाशील हुनुपर्ने देखिन्छ ।
२. खराव अभ्यासहरूलाई हटाउने या परिमार्जन गर्ने सवाल
सामाजिक परम्परामा सुधार गर्नुपर्ने खराव प्रथा र अभ्यासहरू पनि हुने गर्दछन् । हिजो हाम्रो समाजका विविध कालखण्डमा रहेका र्औरङ्गजेबका शासनकालमा जस्तो जबर्जस्ती धर्म परिवर्तनको अवस्था नरहेको, छोरा र छोरी दुवैले अनिवार्य रूपमा शिक्षा लिनुपर्ने, शिक्षा र तालीम तथा क्षमताका आधारमा आर्जन हुने र भविष्यको जीवनयापनका सुनिश्चितता हुने हुनाले पनि बालबिवाहको आवश्यकता नरहेको अवस्थाका बारेमा राम्ररी समाजलाई बोध गराउनु जरुरी देखिन्छ । बालबिवाहजस्ता कुरितिको अन्य गर्न पनि सकिने देखिन्छ । बालिकाले समाजमा भोग्नु परिरहेको असमान स्थिति र दुव्र्यवहारको हिजोको अवस्थाको यथार्थ पहिचान र त्यसको तथ्यलाई समाजमा स्थापित गरेर मात्र मात्र पुग्दैन ।
हिजो सारिरीक कार्यमा बालक र बालिकामा फरक क्षमता देखिने र त्यसबाट निर्देशित सामाजिक दृष्टिले विभेदको अवस्था सिर्जना गरेको थियो । आज वैज्ञनिक प्रगतिले स्थापना गरेको यान्त्रिकरणसहितको नयाँ विश्वव्यवस्थामा अव बालक र बालिका दुवैले समान रूपमा सबै काम गर्न सक्ने सहजता स्थापना भइसकेको छ । यस परिवेशमा बालक र बालिमा दिइने शिक्षादीक्षा र जिम्मेवारीमा पनि समता हुन सहजता मिलेका हुनाले विभेदका कुरीतिहरूबाट समाजले छुटकारा पाउने अवस्था देखिन्छ । यस परिप्रेक्षमा हाम्रा परम्परामा निहित विभेदहरूलाई निरुत्साहित गर्दै बालबालिकाको समविकासको अवस्था सिर्जना गर्नुपर्ने युगिन दायित्व हुनआउँछ ।
३. कार्यान्वयन ः
आजको विश्वव्यवस्थामा हिजो हाम्रो परम्परा, त्यसबाट निश्रृत शिक्षा र चेतना एवं त्यस चेतनाले निर्माण गरेको उत्पादक शक्ति अनि त्यसै व्यवस्थाले तय गरेको सामाजिक उत्पादन सम्बन्ध ठिकसँग पहिचान गर्दै परिमार्जित रूपमा अगाडि बढन सके मात्र युगलाई बुझेको ठहर्छ । यसरी मात्र हामीले हाम्रो समाजमा बालअधिकारका उनीहरूलाई पक्षपात नगरिने, उनीहरूको सर्बोत्तम हित हुने, उनीहरूको बाँच्ने र संमृद्ध हुने अनि उनीहरूका आवाजलाई कदर गरिने जस्ता सर्बमान्य सिद्धान्तलाई अङ्गिकार गर्दै कार्यान्वयन गर्न सक्दछौँ । समुदायहरूमा शिक्षा, चेतना, क्षमता र अवसरको बढोत्तरिका लागि पर्याप्त स्रोतको परिचालनका साथ सुदृढ कानून समुचित संरचनासहित त्यसको कार्यान्वयन हुनु नितान्त आवश्यक हुन्छ ।
हाम्रा परम्परागत सामाजिक अभ्यासहरू, संयुक्त राष्ट्रसङ्घीय बालअधिकार महासन्धि र बालश्रमलगायतका संबद्ध अन्य अन्तर्राष्ट्रिय प्रवधानहरू, दिगो विकास लक्ष लगायतका अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू एवं मौलिक हकका रूपमा हाम्रो संविधानले स्थापित गरेको र बालबालिकासँग सरोकार राख्ने सबै ऐनकानूनले बन्दोवस्त र संरक्षण गरिएका गरिएका समग्र बालअधिकारलाई प्रचलनमा ल्याउने स्थान भनेको स्थानीय तह नै हो । त्यसैले त्यहीँबाट बालबालिकाको सम्मान, संरक्षण, विकास र सार्थक सहभागिताका यावत कार्यहरू प्राधमिकताका साथ परिचालन गरिनु पर्दछ । त्यसै बालप्राथमिताको समुचित व्यवस्थापनबाट नै भोलिको हाम्रो समाज समुन्नत हुने हो, सार्थक समृद्धि प्राप्त गर्न सकिने हो र मुलुकको समग्र उन्नयन हुने हो भन्ने अटल विश्वासका साथ सामूहिक रूपमा यस अभियानमा संलग्न हुनु अत्यन्त जरुरी देखिन्छ ।
मित्रवास, सिर्जनाबस्ती,
बुढानलिकण्ठ १२
सिन्धुज्वालामा प्रेषित
८ अगष्ट २०२४