विपन्न तथा असहायको सारथि बन्दै भोटेकोशी –१ जलविद्युत आयोजना

साउन २०, हिन्दी (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–४ मा निर्माणधिन भोटेकोशी–१ जलविद्युत आयोजना यति बेला सो भेगका जनताको सुखदुःखमा साथ दिने सारथि बनेको छ । बाढीपहिरोको चपेटामा परेका सो भेगमा जनतालाई हर कुरामा साथ दिईरहेको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार गाउँपालिका वडा नं. १ कालाङधोङमा डाक्लाङबाट धारापानी हुँदै लिस्तीमाई मन्दिर जाने गोरेटो बाटोमा खसेको पहिरोलाई पन्छाई बाटो सफा गर्ने क्रममा २०८१ साउन १२ गते बिहानको १०ः३० बजेतिर भिरबाट खसेर मृत्यु भएका सोही गाउँपालिका वडा नं. १ का स्थानीय बिरे तामाङको परिवारलाई आयोजनाले आज ५० हजार रुपैयाँ नगद र दुई थान त्रिपाल सहयोग गरेको आयोजना प्रमुख उमेश पराजुलीले सिन्धुज्वालालाई जानकारी दिए ।

उनका अनुसार पहिरो पन्छाउने क्रममा भिरबाट खसि भिरमा नै अड्किएर मृत्यु भएको अवस्थामा तामाङको शवलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले कष्टकर रुपमा निकालेको थियो ।

मृतक तामाङको परिवार विपन्न परिवार रहेको र घरमा कमाएर पाल्ने मान्छेको नै मृत्यु भएपछी परिवार असहाय भएको हुँदा आयोजनाले स्वःस्फूर्त रुपमा तामाङको घरमै गएर आर्थिक सहयोग गरेको आयोजनाका प्रमुख पराजुलीले बताए ।

त्यसैगरि आयोजनाले भोटेकोशी गाउँपालिका वडा नं ४ मा पर्ने लुक्सिङ बस्तीका दलित, असहाय तथा आर्थिक रुपमा बिपन्न ६० घरपरिवारलाई प्रतिधुरी १ थान त्रिपाल, १ बोरा चामल, १ के.जी. नुन र १ लिटर तेल सहितको राहत प्याकेज उपलब्ध समेत गराईएको आयोजना उमेश पराजुलीले जानकारी दिए ।

यसअघि पनि आयोजनाले भोटेकोशी गाउँपालिका अन्तर्गत वडा न १ मा पर्ने तुसारे बस्ती, वडा नं ४ मा पर्ने सुनखानी थामी बस्ती, फुल्पिङकट्टी र वडा नं ३ मा पर्ने दुगुना बस्तीका विपन्न ४०० घरधुरीलाई प्रति धुरी १ वटाका दरले त्रिपाल विरतरण गरेको आयोजनाको लेखा तथा प्रशासन प्रमुख राजेश कुमार श्रेष्ठले बताए ।

यसैगरि आयोजनाले गाउँमा कोही कसैलाई आपतविपत आईपर्दा मानवीय र आर्थिक रुपमा सहयोग गर्दै आइरहेको प्रमुख पराजुलीको भनाई छ । आयोजनाले गरेको उक्त मानवीय र उत्तरदायित्व निर्वाह गरेको प्रति स्थानीय जनता उत्साहित देखिएका छन् ।