खागदलमा अवरुद्घ सडक ह्युमपाइप राखि सञ्चालन

निर्मल बस्नेत
३ साउन, बाह्रबिसे । असार ३० गतेको भारी बर्षाको कारण बाह्रबिसे नगरपालिका स्थित खागदल खोलामा आएको बाढीले बेलिबृज बगाएपछि ५ दिन देखि अबरुद्ध अरनिको राजमार्ग आजबाट सञ्चालनमा आएको सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बुध्धराज बस्नेतले जानकारी गराए ।

छिमेकी राष्ट्र चीनसंग जोडिएको सडक सिन्धुपाल्चोक जिल्लाको मूख्य व्यापारीक मार्ग हो । तातोपानी कोदारी राजमार्गमा पर्ने खागदल खोलामा पटक पटक बाढीले पुल बगाउने गरेको थियो । २०७८ सालको बाढीले छेतबिच्छेद बनाए पछि बेलीबृज राखेर आवात जावत हुँदै आएको थियो ।

यसबर्षको बर्षादको सुरुवात मै राजमार्गको बाह्रबिसे नगरपालिका ३ र ५ जोड्ने उक्त बेलीबृज बाढीले बगाएपछि सडक सञ्जाल खुलाउन बाह्रबिसे नगरपालिका, सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ, सिल्क ट्रान्सपोर्ट,नेपाल ट्रक कन्टेनर ढुवानी सेवा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतले ३ दिनअघिदेखि ह्युम पाइप बिछ्याउन लागि परेको थियो ।

सवै निकायको संयुक्त प्रयासपछि खागदल खोलामा ह्युमपाईप बिछ्याइएर सडक सञ्चालन गर्न सफल भएको सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बस्नेतले बताए । सडक सञ्चालन भएपछि व्यवसायीहरुले चीनबाट ल्याएका फलफुल र लत्ताकपडा काठमाडौ पु¥याउन सकिने भएको बताए ।

२०७१ सालको जुरे पहिरोको कारण बाह्रबिसे नगरपालिका र बलेफी गाउँपालिका क्षेत्रको सोही सडकमा अवरुद्ध भएपछि बाह्रबिसे –टेकानपुर – पाङ्ग्रेटार हुँदै खाडिचौर जोड्ने बैकल्पिक सडक निर्माणका लागि पनि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल ट्रक कन्टेनर व्यवसायी संघ र हिमालय सिमापार बाणिज्य संघमा आवद्ध व्यवसायीहरुको सक्रियता रहेको थियो ।