इलेक्ट्रोपावरले मृत्यु भएका कामदारका परिवारलाई करिब ३० लाख आर्थिक सहायता दिने

असार २९, काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन ४० मेगावाटको भोटेकोसी–१ जलविद्युत् आयोजनाको डिसेन्डर स्ल्याबको ढलान भत्किँदा पुरिएर मृत्यु भएका दुई कामदारका परिवारलाई प्रवर्द्धक कम्पनीले आर्थिक राहत दिने भएको छ । भोटेकोशी गाउँपालिका–४ मा निर्माण भइरहेको आयोजनाको प्रवर्द्धक इलेक्ट्रो पावर कम्पनी लिमिटेडले मृतक कामदार बर्दीयाको ठाकुरबाबा नगरपालिकाका रामजीन थारू र सुमन बारूका परिवारलाई प्रतिपरिवार झण्डै ३० लाख रुपैयाँको राहत प्याकेज उपलब्ध गराउने भएको हो ।

यसका लागि आयोजनाको निर्माण ठेक्का लिएर काम गरिरहेको ‘सब–कन्ट्र्याक्टर’ कम्पनी बीएमआर कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि र मृतकको पक्षबाट उक्त पालिकाका वडा अध्यक्षले सोमबार लिखित सम्झौतामा हस्ताक्षर गरेको इलेट्रो पावरका प्रोजेक्ट म्यानेजर उमेश पराजुलीले जानकारी दिए । राहत रकम १५ दिनभित्र उपलब्ध गराउने सम्झौता रहेको उनको भनाइ छ ।

‘उहाँहरू सब कन्ट्रयाक्टर कम्पनीको तर्फबाट आयोजनामा कार्यरत हुनुहुन्थ्यो,’ पराजुलीले भने, ‘तर सब कन्ट्रयाक्टरलाई अप्ठ्यारो नपरोस् भनेर आयोजना प्रवर्द्धक कम्पनीले नै राहत प्याकेज उपलब्ध गराउने गरी बर्दीया पुगी मृतकको रिवारलाई भेटेर समवेदना प्रकट गर्दै नगरपालिकाका प्रतिनिधि सहितको उपस्थितिमा लिखित सम्झौता गरेका छौं ।’ नगरपालिकाका प्रतिनिधिसहितको उपस्थितिमा लिखित सम्झौता गरेको उनले बताए ।

उनका अनुसार सम्झौतामा कम्पनीले मृतकका परिवारलाई कामदारको जीवन बीमा बापतको २० लाख रुपैयाँ परिवारको मुद्धति खातामा निक्षेपको रूपमा जम्मा गरिदिने छ । त्यस्तै, प्रतिपरिवार नगद ७ लाख रुपैयाँ र डेढ लाख रुपैयाँ काजकिरिया खर्चबापत उपलब्ध गराउने छ ।

त्यस्तै, मृतकका छोराछोरीलाई १२ कक्षासम्म पढाइ खर्च व्यहोर्ने, आयोजना निर्माण अवधिभर मृतकले पाउने गरेको तलब परिवारको खातामा कम्पनीले जम्मा गरिदिने समेत सम्झौतामा उल्लेख छ । मृतका परिवारका सदस्यलाई आयोजनामा रोजगारी दिनेसमेत सम्झौतामा उल्लेख रहेको छ ।

आयोजना प्रमुख पराजुलीका अनुसार मृतकका परिवार मध्ये एक परिवारको २ वर्षकी छोरी रहेको र अर्को परिवारमा मृतककी श्रमती गर्भवती भएको गर्भवतीलाई पोष्टिक आहार तथा स्यहार सुसारका लागि आयोजनाले थप १ लाख रुपैयाँ समेत उपलब्ध गराउने भएको छ ।
स्मरण रहोस भोटेकोसी–१ को प्रवर्द्धक इलेक्ट्रो पावरले बीमा नै २० लाख रुपैयाँको गरेको छ ।

आयोजनाको डिसेन्डर बेसिनको कभर स्ल्याबको ढलान भत्किंदा शुक्रबार उनीहरु पुरिएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय लगायतले अविरल वर्षाकै बीच उनीहरूको खोजी सुरु गरेको थियो । तर, उनीहरुलाई शनिवार बिहान ४ बजे मात्रै मृत अवस्थामा फेला पारी पोष्टमार्टमका लागि धुलिखेल अस्पताल ल्याइएको थियो । पोष्टमार्टम लगत्तै आयोजना प्रमुख पराजुली शव लिएर बर्दीयाको ठाकुरबाबा पुगेका थिए ।

दुर्घटनामा घाइते भएका १० जना मध्ये एक जनाको ढाडको हाड भाँचिएकोले उपचार भइरहेको प्रोजेक्ट म्यानेजर पराजुलीले बताए । अर्को एकजानको आँखामा सिमेन्ट परेकोले अहिले अस्पतालमै आरामको अवस्थामा रहेको र बुधबारसम्म डिस्चार्ज हुने तयारी रहेको उनले बताए ।
उनका अनुसार डिसेन्डर बेसिनको संरचना के कति कारणले भत्कियो भन्नेवारे कम्पनीले अनुसन्धान सुरु गरिसकेको छ । भविश्वमा यस्ता दुर्घटना नहोस् भनेर कम्पनीले अध्ययन गरिरहेको उनको भनाइ छ । इलेक्ट्रो पावरले एक वर्षअघि (२०८० साउनबाट) आयोजना निर्माण सुरु गरेको थियो । आयोजनाको निर्माण हालसम्म ३० प्रतिशत पूरा भएको र आगामी २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए ।