यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
निर्मल बस्नेत
२६ असार, चौतारा । जनस्वास्थ्य कार्यलय सिन्धुपाल्चोकले स्थानिय तहका अध्यक्ष, उपाध्यक्ष, कर्मचारी, विद्यालय शिक्षक, बिद्यार्थी, सुरक्षाकर्मी, संचारकर्मी लगायत सरोकारवालासंग यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको सभाहल चौतारामा भएको कार्यक्रमा सम्वन्धित बिषयमा सरोकार राख्ने स्थानीय सरकारको स्वास्थ्य, शिक्षा, युवा तथा खेलकुद र महिला तथा वालवालकिा शाखाका कर्मचारीहरुको समेत सहभागितामा अन्तरक्रिया गरिएको थियो ।
आ.व. २०८०÷०८१ को संघिय विशेष अनुदान कार्यक्रम अन्तरगत स्थानिय सरकारसंग छात्रछात्राको सवालमा सरोकारवालाहरुसंग एक दिने कार्यक्रम गरेको हो ।
किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधार आयोजना, मात्रृ तथा बाल पोषण प्रवर्धन आयोजना, प्रजनन स्वास्थ्यका तत्वहरु लगायतका बिषयबस्तु समेटिएको कार्यक्रमहरु जिल्लाका विभिन्न विद्यालयमा लागु गरिएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोककी कार्यालय प्रमुख दुर्गा बजगाईले जानकारी दिईन् ।
सिन्धुपाल्चोकका ९ वटा गाउँपालिका क्षेत्रमा रहेका ९ वटा विद्यालयका किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधारका लागी आयोजनाले काम गर्दै आएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार हेलम्बुको सरस्वती माध्यमिक बिद्यालय, जुगलको जलदेबी मावि, पाँचपोखरी थाङपालको क्षेत्रपालेस्वरी माबि, त्रिपुरासुन्दरीको राम माबि, इन्द्रावती गाउँपालिकाको भिमेस्वरी माबि, भोटेकोशीको थापीनारायण माबि, लिसंखुपाखरको घिच्चेत ददिसु माबि, सुनकोशीको कोल्दुङ माबि र बलेफीको सेतीदेबी माबिमा कार्यक्रम लागु गरिएको छ ।
आयोजनाले विद्यालय नर्स मार्फत विद्यालयका छात्रछात्रालाई आवश्यकता अनुसार मनोपरामर्श दिने, उनिहरुलाई गुणस्तरीय यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि सुचना र परामर्श सेवाको पहुँचमा पुर्याउने, परिवारलाई यसबारेमा जानकारी दिने, महिनावारी स्वास्थ्य सेवा र सरसफाई सम्बन्धी गलत धारणालाई निरुत्साहित गर्ने उदेश्य राखेर काम गरहेको जनस्वास्थ्य कार्यालय प्रमुख दुर्गा बजगाईंले बताइन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख वालकृष्ण श्रेष्ठ, बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङ र गाउँपालिका उपाध्यक्षहरुले कार्यक्रमको प्रभावकारीता बढ्दो मात्रामा रहेकोले यसलाई सवै शैक्षिक संस्थाहरुमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रम जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।