डाकलाङ पहिरो नियन्त्रणका लागि वृक्षारोपण
दिनेश दुलाल
असार २०, हिन्दी । अरनिको लोकमार्ग हुँदै चीनसंग जोडिएको उत्तरी नाका तातोपानी क्षेत्रमा रहेको डाकलाङ पहिरो दशकौं देखि चर्चामा रहेको नाम हो ।
चाकु बजार देखि करिब दुई किमी माथी र हिन्दीबाट करिब एक किमी तल रहेको डाकलाङ पहिरोका कारण सो भेगका जनताले बर्षेनी समस्या झेल्दै आएका छन् । चीन सरकारको सहयोगमा पहिरो नियन्त्रण गरेर सडक खुलाएपनि पहिरो बग्ने समस्याका कारण सो क्षेत्र अझै जोखिम रहेको छ । सोही क्षेत्रमा पहिरो नियन्त्रणको लागि त्याहाँ निर्माणधिन एक हाईड्रोपावरको आर्थिक लगानीमा वृक्षारोपण कार्यक्रम गरिएको छ ।
गौरीशंकर संरक्षण क्षेत्र व्यवस्थापन समिति भोटेकोशी–४ फुलपिङकट्टी, सिन्धुपाल्चोकको समन्वय तथा भोटेकोशीमा रहेको ईलोक्ट्रोपावर कम्पनी लिमिटेड द्वारा निर्माणधिन भोटेकोशी–१ जलविद्युत आयोजनाको आर्थिक सहयोगमा आज डाकलाङ पहिरोमा वृक्षारोपण कार्यक्रम गरिएको हो ।
ईन्द्रध्वज गुल्मका गुल्मपति दिपेन्द्र बस्नेत, ईलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरिक्षक संचिता श्रेष्ठ,सशस्त्र प्रहरी बलका ईनेस्पेक्टर सराेज आचार्य भाेटेकाेशी–४ का वडाअध्यक्ष टासी शेर्पा, भोटेकोशी–१ जलविद्युत आयोजनाका आयोजना प्रमुख उमेश पराजुली लगाएले बाँसको विरुवा रोपण गरेर शुभराम्भ गरेका थिए । आयोजना बन्दै गरेको सो क्षेत्रमा पहिरो नियन्त्रण तथा वातावरणीय पर्यावरणका लागि बाँसले भू–क्षय रोक्ने भएकोले पहिलो चरण परिक्षणको लागि बाँसको एकहजार विरुवा रोपण गरिएको आयोजना प्रमुख उमेश पराजुलीले जानकारी दिए । आयोजनाले सो क्षेत्रमा दुईहजार बाँसको विरुवा रोपण गरिने योजना रहेको उनले सुनाए । भोटेकोशी गाउँपालिकाका ४ वटै वडाहरुमा प्रत्येक वर्ष यसैगरी वृक्षारोपण गरिने उनको भनाई छ । उनका अनुसार बाँसको फरक जातीको प्रजातीको ५ सय विरुवा तराईबाट र जर्सिङ पौवाबाट स्थानीय प्रजातीको ५ सय विरुवा ल्याईएको हो ।
गौरीशंकर संरक्षण क्षेत्र व्यवस्थापन समितिका सचिव साङदोर्जे शेर्पा (सागर) ले ईलोक्ट्रोपावर कम्पनीले आयोजना सञ्चालन गर्दै गर्दा जति वातावरणमा क्षति पुग्छ त्यो वापतको सट्टाभरण जस्तो गरेर वृक्षारोपण गरिएको बताए । स्थानीय समितिहरुसंग मिलेर यति ठूलो मात्रमा अहिले सम्म कुनैपनि हाईड्रोपावरहरुले नगरेको ठोकुवा गरे । आयोजनाको उक्त काम असाध्यै सह्रानीय रहेको समेत उनले प्रतिक्रिया दिए । बर्षौ देखिको डाकलाङ पहिरो माथि बस्ती रहेको हुनाले पहिरो नियन्त्रणले बस्ती जोगिने समेत उनले दावी गरे ।
वृक्षारोपण कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह, स्थानीय समुदाय, सामाजिक संस्था लगाएतको बाक्लो सहभागिता रहेको थियो ।
यसैबीच ईलोक्ट्रोपावर कम्पनीले भोटेकोशीका प्रभावित नागरिकलाई त्रिपाल वितरण गरेको छ । बाढीपहिरोको जोखिम रहेको सो क्षेत्रका २०० विपन्न परिवारलाई २४–१८ साईजको त्रिपाल वितरण गरिएको आयोजना प्रमुख पराजुलीले जानकारी दिए । आयोजनाले प्रभावितलाई त्रिपाल वितरण गरेर रचनात्मक काम गरेको त्रिपाल लिएर फर्किएकी सुनमायाँ तामाङले प्रतिक्रिया दिईन । स्थानीय आयोजनाको हिन्दीमा रहेको साईड कार्यालयमै त्रिपाल बुभ्न पुगेका थिए । उनीहरुलाई आयोजना प्रमुख पराजुली तथा प्रहरी निरिक्षक श्रेष्ठले त्रिपाल वितरण गरेकी हुन् ।