चौतारा साँगाचोकगढीले गर्याे सर्वदलीय बैठक

निर्मल बस्नेत
असार ६, चौतारा । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले सर्वदलिय बैठक सम्पन्न गरेको छ । नगरप्रमुख कृष्णप्रसाद सापकोटा देशबन्दुको आह्वानमा आज बिहिबार सर्वदलीय बैठक बसेको हो ।

संघीय व्यवस्था लागू हुनुपूर्व जिल्ला विकास समितिले सर्वदलीय सहमति अनुरुप योजना निर्माण र बजेट बाँडफाँड हुने गरेका थियो । संघीयतामा गएयता स्थानीय सरकारले आफ्नो मनोगत निर्णय गर्दै अरुलाई व्यवास्था गरेको सर्वद्र आलोचना हुने गरेको छ । यता चौतारा साँगाचोकगढीले सवैको रायसुझाव लिने राम्रो कामको अभ्यास गरेको छ ।

नजिकिदै गरेको १६ औ नगर सभामा पालिकाको समग्र बिकास, समृद्धि, पूर्वाधार विकास, सुशासन, शिक्षा, स्वास्थ, खानेपानी तथा समसामयीक बिषयमा पालिकामा क्रियाशिल दलहरुको राय सुझाव संकलन गरेको हो । बैठक नगरप्रमुख कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा बसेको हो । बैठक संचालन उपप्रमुख सीता थापाले गरेको नगरप्रमुखको स्वकिय सचिव रमेश सापकोटाले जानकारी गराए ।

बैठकमा कार्यलयको प्रशासनिक सुधार, स्वास्थ्य पर्यटन, शिक्षामा गरेको दरबन्दी मिलान, विद्यालय डाउन साइज, कृषि उपजको बजारिकरणको लागि कृषि एम्बुलेन्स खरिद, कृषि उपजको संकलनको लागि शीत भण्डार जस्ता राम्रा कामको शुरूवात भएको र यसलाइ व्यबस्थित र निरन्तरता दिनुपर्ने भन्दै दलहरुले सुझावहरु राखेका थिए ।

आगामी बर्षको लागि सुझाव राख्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नगरप्रमुख रबिन श्रेष्ठले बन्देउ देखि चौतारा सम्म फलफुल रोपेर आन्तरिक पर्यटकलाई आकर्षक गर्न सकिने, सिसि क्यामारा जडान, बाँदर नियन्त्रणको लागि जैबिक घेरावार, सुझाव राखेका थिए । त्यस्तै एमाले नगर अध्यक्ष खिल बहादुर श्रेष्ठले सर्वदलीय बैठक त्रैमासिक रुपमा राख्नु पर्ने भन्दै आफ्नो राय राखेका थिए ।

त्यस्तै समाजवादीका केन्द्रीय सदस्य सोम सापकोटाले सरकारी सेवा सुबिधा लिएका सबै घरका बालबच्चा सामुदायिक बिधालयमा नै पढाउनु पर्ने नीति बनार नै जानुपर्ने भन्दै आफ्ना सुझाव राखेका थिए ।

बैठकमा नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य सोम सापकोटा, नेपाली कांग्रेसका नगर सभापती इन्द्रलोचन धिताल, नेकपा एमालेका नगर अध्यक्ष खिल बहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्रका जिल्ल्ला संयोजक गोबिन्द पराजुली, माओवादीकै नगर अध्यक्ष श्यामकृस्ण श्रेष्ठ, रास्वपाका नगर सभापती रबिन श्रेष्ठ, राप्रपाका नगर अध्यक्ष सेर बहादुर ठकुरी लगाएतले आफ्नो धारणा राखेका थिए ।