
भोताङको कोदो अमेरिकामा !

दिनेश दुलाल
जेष्ठ २०, भोताङ (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका–३ भोताङमा उत्पादन भएको कोदो अमेरिका निर्यात भएको छ ।
अर्गानिक आलु तरकारी उत्पादनको हब बनेको भोताङमा उत्पादन भएको अर्गानिक कोदो अमेरिकामा निर्यात भएको वडा नम्बर ३ का वडाअध्यक्ष ङिमा छिरिङ तामाङले जानकारी दिए । छिम्तीबाट २०८० सालमा पहिलोपटक अन्दाजी ३ हजार केजी कोदो अमेरीका निर्यात भएको उनले बताए । उनका अनुसार अमेरीका कोदो लैजानु अघि नेपालमा अर्गानिक प्रमाणित कम्पनीले ३ पटक अर्थात ३ बर्ष जाँच गरेर अर्गानिक भएको पुष्टी भएपछि मात्र यसपटक देखि कोदो निर्यात भएको हो । कोदो अर्गानिक भएको पुष्टी भएपछि निरन्तर निर्यात हुने उनले बताए ।
कोदो निर्यात गर्ने कम्पनीले गाउँबाटै प्रति किलो १२० मा किसानाबाट खरिद गरेका हुन् । कोदोमा अहिले सम्म रासानिक मल तथा विषादीको प्रयोग नभएको हुनाले भोताङबाट कोदो निर्यात भएको हो । कोदोमा अन्य बालीको तुलानमा कार्बोहाईडेड तथा अन्य जैविक तत्व ज्यादै पाउने भएका कारण पछिल्लो पटक विश्व बजारमा यसको माग ज्यादै बढ्न गएको हो । उसो त ज्यादै आलु उत्पादन हुने भोताङमा आलु लगाएत तरकारी तथा फलफूलमा विषादी र रासायनिक मलको शून्य रहेको छ । भोताङलाई अबको केही दिनमै अर्गानिक प्रमाण पत्र पाउने वडाअध्यक्ष तामाङ बताउँछन् । उनका अनुसार त्याहाँ उत्पादन भएको आलु बिना कोल्डस्टोर १७ महिना सम्म राखेर खान सकिन्छ । श्रावण, भदौ, असोज महिनामा तयार हुने आलु रासायनिक मलको प्रयोग नभएको हुनाले नकुहिने उनको भनाई छ । भाेताङलाई एग्राे टुरिजमकाे रूपमा अगाडि लैजाने मुख्य याेजना रहेकाे वडा अध्यक्ष तामाङ बताउँछन् ।
सेरच्यु बरलो सहकारी मार्फत किसानहरुलाई संगठित गरी अर्गानिक तकारी, फलफूल तथा अन्न उत्पादन हुँदै आएको छ । यसको नेतृत्व सहकारीले गरेपनि सबै किसानहरु जागरुक भएको सेरच्यु बरलो सहकारीकी व्यवस्थापक हसिना वाईबा (तामाङ) ले बताईन । वाईबाका अनुसार किसानलाई सहकारी मार्फत गत सालदेखि तालिमको व्यवस्था गरिएको छ । जसमा वडा तथा पालिकाले आर्थिक सहयोग गरिरहेको छ ।
स्मरण रहोस पछिल्लो पटक सिन्धुपाल्चोक तरकारी, अन्नबाली तथा फलफूलमा शुद्व अर्गानिक व्यवसाय गर्ने भोताङ नै पहिलो भएको छ । अर्गानिक व्यवसायमा भोताङबाटै पालिकाभरी अभियान चलाउने गाउँपालिकाले योजना बनाएको छ ।
मानव विकास सूचाङकमा पाँचपोखरी गाउँपालिका पछि परेको भन्दै बागमति प्रदेश सरकारले प्रदेश भरिकैमा सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका–३ भोताङ छनौटमा परेको हो । छनौटमा परेसंगै उक्त वडाले वार्षिक एक करोड बजेट पाउने छ । वडा नम्बर ३ का अध्यक्ष ङिमा छिरिङ तामाङका अनुसार त्यो रकमले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, उर्जा, रोजगार आदि क्षेत्रहरुमा लगानी हुनेछ । प्रदेशबाट नमुना वडा समाजवादी कार्यक्रम अन्र्तगत समपुरक कार्यक्रममा पालिकाबाट १० लाख र प्रदेशबाट ९० लाख आउनेछ ।