४४ जनाले लिए १५ दिने बारिष्ता (कफी) तालिम
निर्मल बस्नेत
१७ जेठ , चौतारा । चौतारामा ४४ जनाले १५ दिने बारिष्ता (कफी) तालिम लिएका छन् । उद्योग बाणिज्य कार्यालय र चौतरा साँगाचोकगढी नगरपालिकाको सहयोग तथा अरनिको कृषि तथा पशुपालन फर्मले आयोजना गरेको १५ दिने( कफी) बारिष्ता तालिम भएको हो ।
जेठ २ गतेबाट अरनिको रिसोर्ट प्रा.लि. चौतारामा सञ्चालित तालिम १६ गतेसम्म चलेको थियो । तालिमको एक कार्यक्रमको आयोजना गरि बिहिबार समापन गरिएको छ । तालिम समापनमा बोल्दै नगरप्रमुख कृष्णप्रसाद सापकोटाले नगरबासीलाई कृषिमा निर्भर बनाउन आवश्यक कार्यक्रम तय गरिएको बताउदै कफी उत्पादनमा समेत लाग्न सहभागी र आयोजक कृषि फर्मलाई आग्रह गरे । नगर उपप्रमुख सीता थापाले तालिमबाट नगरले आगामी दिनमा थप कार्य गर्नको लागि प्रेरित गरेको भनिन् ।
तालिममा सहभागी बिजय नेपालले धेरै प्रकार हुने कफीको आफूले बल्ल कफी चिन्न सक्ने भएको बताउदै आगामी दिनमा थप तालिम व्यवस्थाको माग गरेका थिए ।
त्यस्तै अर्का सहभागी रोशनी दुलालले आगामी दिनमा आफै व्यवसाय गर्न सक्ने र वैदेशिक रोजगारीको लागि पनि टेवा पुग्ने धारणा राखिन् ।
तालिममा सहभागिहरु र प्रशिक्षकलाई नगरप्रमुख कृष्णप्रसाद सापकोटाले प्रमाणपत्र बितरण गरेका थिए । त्यस्तै उद्योग बिकास कार्यालयले नगरपालिकालाई तालिममा सहयोग पुर्याएको भनी प्रशंसा गर्दै कदर पत्र प्रदान गरिएको थियो । उक्त कदरपत्र उद्योग बिकास कार्यालयका उद्योग अधिकृत विश्वनाथ काफ्ले नगरप्रमुख सापकोटालाई प्रदान गरेका हुन् ।
अरनिको कृषि फर्मका व्यवस्थापक दिपेन्द्र घलेले स्थानीय रुपले रोजगारी सिर्जना गर्ने हेतुले कफी उत्पादन देखि प्रसोधन र परिकार तयारसम्मको बिषयबस्तु समेटेर तालिम गरिएको बताए ।
कृषि फर्मका अध्यक्ष शारदा घलेको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा पूर्व सांसद सुवास कर्मचार्य, नेकपा एमालेका जिल्ला अध्यक्ष होमननारायण श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष खड्का, भू–तथा जलाधार कार्यालयका प्रमुख दिवाकर मास्के र पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।