
अत्याधुनिक चौतारा अस्पतालको प्रधानमन्त्री प्रचण्डद्वारा उदघाटन

जेठ १६, (२०८१) चौतारा । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा स्थित अत्याधुनिक अस्पतालको बुधबार उदघाटन गरिएकाे छ ।
मित्रराष्ट्र चीनको सहयोगमा निर्माण सम्पन्न उक्त भवनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक समारोहबीच उदघाटन गरेका हुन् ।
नवनिर्मित भवनकाे उदघाटन पछिकाे मन्तव्यलाई सम्बाेधन गर्दै प्रम प्रचण्डले व्यवस्थासँगै अवस्था परिवर्तनका लागि सिन्धुपाल्चोकको महत्त्वपूर्ण भूमिमा रहेको बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्धको कठिन समयमा यहाँका जनताबाट पाएको माया स्मरण गरे ।
“म थुप्रैपटक सिन्धुपाल्चोक आएको छु, जनयुद्धको कठिनतम् दिनहरूमा मैले यहाँका गाउँवेसी चहारेको छु, यहाँका भीरपाखाहरू छिचोलेको छु`, प्रचण्डले भने, । विसं २०७२ सालको महाभूकम्पले धरासायी बनाएको चौतारा अस्पतालको पुनःनिर्माण प्रक्रिया अघि बढाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ भवन निर्माण भएसँगै खुलाचौरमा र टेण्टभित्र स्वास्थ्य उपचार गर्नुपर्ने बाध्यता अन्त्य भइ अस्पतालको सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गरे ।
देशका नागरिक स्वस्थ हुनु भनेको अर्थतन्त्र र समाज स्वस्थ हुनु हो भन्दै प्रधानमन्त्री प्रचण्डले स्वस्थ नागरिकबाटै समृद्धिको सपना साकार हुने विश्वास व्यक्त गरे । “शारीरिक तथा मानसिकरूपमा सबल, सक्षम र स्वस्थ नागरिकहरूको प्रयत्नबाट मात्रै कतिपय देशहरू हरेक क्षेत्रमा फड्को मार्न सफल भएकाे उनकाे भनाई छ । यही कुरालाई मनन गर्दै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्दै आएका र गणतन्त्र प्राप्तिको छोटो अवधिमा स्वास्थ्य सूचकाङ्कहरूमा उल्लेख्य सुधार भएको प्रम प्रचण्डले ले ठाेकुवा गरे । ´प्रदेश सरकारको नीति तथा कार्यक्रमले समेत यसलाई अघि सारेको छ, त्यसैले व्यवस्था मात्र परिवर्तन भयो, अवस्था उस्तै छ भन्ने भाष्य क्रमशः परिवर्तन हुँदैछ,` प्रधानमन्त्री प्रचण्डले भने । उनले पछिल्ला दिनहरूमा अस्पतालको सेवाप्रवाहमा गुणात्मक परिवर्तन आएको बताए ।
प्रधानमन्त्री प्रचण्डले भने ´गणतन्त्र स्थापनापछि थुप्रै उपलब्धि हासिल गरेका छौँ, पूर्वाधारदेखि शिक्षा स्वास्थ्यलगायतका सार्वजनिक क्षेत्रमा गुणात्मक परिवर्तन भएको छ ।`उनले नीति कार्यक्रम र बजेटमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउने र परिवर्तनलाई अनुभूतिको तहसम्म ल्याइपुर्याउने किसिमले सङ्घीय सरकारले रणनीतिक महत्त्वका कार्यक्रम अघि सारेको जानकारी दिए ।
कार्यक्रममा पूर्व सभामुख अग्निप्रसाद सापकोटा, सांसद माधव सापकोटा नेपालका लागि चिनियाँ राजदूत छन सोङ, बागमती प्रदेशका मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधि, स्थानीय र अस्पताल आवद्धहरुको बाक्लो उपस्थिति रहेको थियो ।
२०७२ सालको विनाशकारी भूकम्पमा ध्वस्त अस्पताल पुनर्निर्माणमा चीन सरकारको ६ करोड १० लाख चिनियाँ युआन (आरएमबी) अनुदान सहयोगमा निर्माण भएको हो । ९ सेप्टेम्बर २०२२ मा निर्माण सुरु भएको चाइना एड सिन्धुपाल्चोक हस्पिटल रिकभरी प्रोजेक्ट इन नेपाल करिब १८ महिनाको छोटो अवधिमा निर्माण कार्य सम्पन्न भएको हो ।
चौतारा अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. रुद्रमणि भण्डारीका अनुसार अस्पताल भवन निर्माणका लागि सन् २०१८ अगष्ट १५ मा चीनको अर्थ मन्त्रालय अन्तर्गत एजेन्सी फर इन्टरनेशनल इकोनोमिक को–अपरेसन र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच काठमाडौंमा सम्झौता भएको थियो ।
अस्पतालका अनुसार ५० शैयको सुविधा सम्पन्न अत्याधुनिक अस्पताल सेवाका लागि सम्पूर्णरुपमा तयार भईसकेका छन् । मेडिकल कम्प्लेक्स बिल्डिङ ९३ स्टोरिज, वाटरपम्प रुम, टेम्पोररी मेडिकल वेस्टेज रुम, जेनेरेटर सेड निर्माणसँगै मेडिकल उपकरण, फर्निचर र अस्पतालका लागि आवश्यक सर्जिकल सामग्री चीन सरकारले नै उपलब्ध गराएको हो । भ्याक्सिनेसन सेन्टर, पुलिस अफिस, फायर कन्ट्रोल सेन्टर, क्षयरोग र एड्स उपचार कक्ष पनि तयार भएका छन् ।
भुइँतलामा चार सय ५० केभी पावरको जेनेरेटर र मेडिकल वेस्ट वाटर प्रोसेसिङ उपकरण पनि जडान गरिएको छ । त्यस्तै फार्मेसी, दर्ता शाखा, परामर्श कक्ष, फिजियोथेरापी पुनर्वास कक्ष, पोषण भान्सा, ड्युटी रुम, बहिरंग बिरामी कक्ष, बालबालिका कक्ष, प्रयोगशाला, आकस्मिक कक्ष, नर्सिङ स्टेसन, ड्रेसिङ रुम, एक्सरे र भिडियो एक्सरे कक्ष पनि तयार भएका छन् ।
पहिलो तलामा नर्सिङ स्टेसन, २९ शैयाको अन्तरंग विभाग, क्लासरुम, सात शैयाको प्रसूति विभाग, दुई अपरेटिङ कक्ष, रिकभरी कक्ष, नवजात शिशु स्याहार मेसिन, फोटोथेरापी उपकरण, बालबालिका उपचार कक्ष, पुरुष र महिलाका लागि छुट्टाछुट्टै ड्रेसिङ कक्ष, मेडिकल स्टाफ आराम कक्ष छन् ।
त्यस्तै दोस्रो तलामा प्रशासनिक कार्यालय, तालिम हल, गतिविधि कक्ष, अप्रेसन डिपार्ट, पुस्तकालय, सम्मेलन रुम, अस्पताल निर्देशक कक्ष र मेडिकल डकुमेन्ट रुम छन् । तेस्रो तलामा पानी प्रशोधन कक्ष जहाँ कार्बन र बालुवा फिल्टर मेसिन छन् । अप्रेसन कक्षका लागि स्वच्छ हावा तयार पार्ने मेसिन र दुईवटा ठूला लुगाधुने मेसिन राखिएका छन् ।
सबै तलामा अत्याधुनिक अपरेटिङ सिस्टम जडान गरिएको छ । नेपाल सरकारलाई औपचारिक रुपमा हस्तान्तरण गरेपछि पनि आगामी तीन वर्षसम्म चिनियाँ प्राविधिक टोली अस्पतालमै रहने अस्पताल स्रोतले जनाएको छ । उनीहरूले मेसिन र अपरेटिङ सिस्टम सिकाउने बताइएको छ । भूकम्पपछि ध्वस्त चौतारा अस्पतालले करिब पाँच वर्ष टेण्टमा बिरामीको उपचार गरेको थियो । त्यसपछि बनाइएको अस्थायी संरचना प्रिफायब भवनभित्रबाट सेवा सञ्चालन हुँदै आएको छ ।