युवा समितिले सुरु गर्याे सीप बिकास तालिम, ६० जना स्वराेजगार बन्दै

निर्मल बस्नेत
२८ वैशाख — चाैतारा । बागमती प्रदेश सरकार, प्रदेश युवा परिषद् , जिल्ला युवा समिति सिन्धुपाल्चोकले चौतारामा प्राविधिक तथा व्यवसायिक सीप बिकासकाे तालिमकाे सुरुवात गरेकाे छ ।

युवा परिसद सिन्धुपाल्चोककाे स्वयंसेवक रुपक दुलालका अनुसार एक शिर्षककाे तालिमकाे लागि २० जनाका दरले सहभागी छनाेट गरेकाे छ । चाैतारामा एकैपटक सुरु गरेकाे ब्युटीपार्लर, फेसन डिजाइनर र टेलरिङ्ग तालिममा गरि ६० जना सहभागी रहेका छन् । तालिमपश्चात सिकेको सिपलाई प्रयाेगमा ल्याई स्वराेजगार बनाउने अभिप्रायले युवा परिषद्ले उक्त तालिमकाे आयाेजना गरिएकाे हाे ।

सिटिइभिटीको मापदण्डअनुसार ३९० घण्टा सञ्चालन हुने तिनवटै तालिमको चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाले शुक्रबार उद्घाटन गरेका हुन् । निशुल्क सिपमुलक तालिमको उद्घाटन सत्रमा बोल्दै मेयर सापकोटाले तालिमपछि दिर्घकालिन योजना बनाएर व्यवसाय गर्दा राम्रो हुने सुझाव दिएका छन् । उनले जिल्लाकाे समृद्धिकाे लागि युवा युवतीहरुले सिकेको सिपलाई व्यवहारमा उतार्नेमा ढुक्क रहेकाे बताए ।

यस्तै नगरकी उपप्रमुख सिता थापाले सिप सिकेर आत्मनिर्भर बन्न आग्रह गरेकी छिन् ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालय प्रदेश युवा परिषद्ले प्रदेशका सबै जिल्लामा २१ प्रकारका तालिमका लागि आवेदन आह्वान गरेको थियो । समयावधिभित्र आवेदन दिनेमध्ये तीन वटा विषयको तालिमको सहभागी छनौट भएको र अन्य तालिमको लागि समेत सहभागी छनौट गर्ने प्रक्रिया चलिरहेको स्वयंसेवक दुलालले बताए ।