कृषिविकास कार्यालयको प्रगति समिक्षिा तथा योजना तर्जुमा गोष्टी सम्पन्न

दिनेश दुलाल
बैशाख २४, चौतारा । कृषिविकास कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक तर्जुमा गोष्टी तथा गत वर्षको प्रगति समिक्षा सम्पन्न गरेको छ । सिन्धुपाल्चोक जिल्ला स्तर गत आर्थिक वर्ष २०८०÷२०८१ को प्रगती समिक्षा तथा योजना तर्जुमा गोष्टी जिल्ला सदरमुकाम चौतारामा सोमबार गरिएको हो ।

जिल्ला समन्वय समितिको सभाहलमा गरिएको उक्त कार्याक्रममा जिल्ला समन्वय समिति, विभिन्न नगर तथा गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरु, जिल्ला प्रशासन कार्यालय, खाद्यपोषण तथा सुरक्षा योजना, बागबानी विकासकेन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि सहकारी तथा जिल्ला बीउ व्यवसायी संघ, कृषि विकास शाखा, सबै स्थानीय तह विभिन्न समुह, सहकारी÷कृषि उद्यमी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले स्थानीय स्तरमा किसान तथा कृषि पेशा गरिरहेका व्यवसायीहरुले भोगेका समस्या तथा कृषिविकास कार्यालयले सेवा दिन नसकेका विषयमा आफ्नो धारणा राखेका थिए । कृषि विकास कार्यालय तथा स्थानीय सरकारले रैथाने जातका विउविजन, मलखाद, खाद्य सुरक्षा र कृषि उपजलाई बजारीकरणको व्यवस्था, सिंचाईको व्यवस्था तथा पकेट क्षेत्र निर्धारण गरी कृषि उपज प्राथमिकिकरण दिनुपर्ने उनीहरुले सुझाब दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख बालकृष्ण श्रेष्ठले स्थानीय किसान आधारित कार्यक्रम ल्याउन कृषिविकास कार्यालय धुलिखेललाई सुझाव दिए । कृषि क्षेत्रको विकासका लागि विधि, पद्दति र शैलीमा स्थानीय सरकार मात्र नभई तिनै तहका सरकारले अबलम्बन गर्नुपर्ने धारणा राखे ।

कृषिलाई आधुनिकिकरण तथा प्रविधिमैत्री बनाउने स्थानीय सरकारको योजना रहेको सुनाउँदै मेयर सापकोटाले स्थानीय जैविक संरक्षण तथा कृषि सिंचाईमा कृषिविकास कार्यालयले योजना बनाउन सुझाए ।

ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले कृषि र पशुलाई व्यवसायिकरण तथा आधुनिकीकरण नगरेसम्म मुलुकको विकास र समृद्विको सपना पुरा नहुने धारणा राखे । त्यस्तै त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोराले नेपाल सरकारले स्थानीय सरकार मार्फत प्रधानमन्त्री रोजगार कार्यक्रम भनेर सडकको नाला तथा सिंढी बनाउने काम मात्रै भएको भन्दै त्यसलाई कृषि रोजगार कार्यक्रमसंग जोड्न पर्ने तर्क राखे ।

त्यस्तै सायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले व्यक्तिको स्वामित्वमा रहेको बाँझो रहेको जग्गालाई स्थानीय सरकारले निजी क्षेत्र मार्फत भाडामा लिई व्यवसायी रुपमै कृषि उत्पादनमा जोड दिनुपर्ने धारणा राखे । मुडेको आलुलाई जिल्लाकै एउटा ब्राण्डको रुपमा विकास गर्न उनले सुझाए ।

कार्यक्रमलाई भोटेकोशी गाउँपालिकाकी उपाध्यक्ष दिक्षेन शेर्पा, हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लामिछानेले कृषि क्षेत्रमा स्थानीय पालिकाले गरेका प्रयास तथा समस्याका बारेमा धारणा राखेका थिए ।

कार्यक्रको सभाअध्यक्षता गरेका कृषिविकास कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख कुलप्रसाद दवाडीले कृषिविकास कार्यालयको हालसम्मको प्रगति, अवस्था एवम आगमी बर्षको लागि प्रस्तावित कार्यक्रमहरु प्रस्तुतिकरण गरेका थिए ।