बाह्रबिसे नगरपालिकाद्वारा विस्थापित २२ परिवारलाई जग्गाधनी पुर्जा

बैशाख २३, बाह्रबिसे । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाद्वारा विस्थापित २२ घर परिवारलाई जग्गाधनी पूर्जा वितरण गरेको छ ।
बाढीपहिरो लगाएत प्राकृतिक प्रकोपको कारणबाट विस्थापित भई भदौ १ देखि हालसम्म पुर्नस्थपनामा परेका लाभग्राहीहरुलाई घडेरीको लागि धनीपूर्जा वितरण गरिएको बाह्रबिसे नगरपालिकाका नगरप्रमुख बालकृष्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार ३ नम्बर वडाको ४, ५ नम्बर वडाको ८, ६ नम्बर वडाको ७, ७ नम्बर वडाको ३ गरी २२ परिवारलाई धनी पूर्जा वितरण गरिएको हो ।

नगरभरिको प्राकृतिक विपत्तिबाट विस्थापित भएकाहरूको पहिचान गरेर यसअघि १४ घर परिवार र शनिबार २२ घर परिवारलाई पुर्जा दिएको बस्नेतले बताए । उनका अनुसार यसरी विस्थापितहरुलाई घर बनाउन जग्गाधनी पुर्जा वितरण गर्ने सिन्धुपाल्चोकमा स्थानीय तहमा सम्भवतः बाह्रबिसे नगरपालिका पहिलो हो ।

प्राकृतिक विपत्तिबाट पीडित भएका परिवार जग्गा धनी पुर्जा पाएपछि खुसी भएका छन् । विस्थापित कमला देवी कार्कीले ७७ सालदेखि विस्थापित भएकोमा आफूहरुले बल्ल पूर्जा पाएको बताए । पुर्जासँगै घर निर्माण गर्न सरकारले दिने ५ लाख सदुपयोग गरेर जीवन निर्वाहको लागि एउटा बास बनाउने १ रोपनी जग्गा पाएका प्रेमदास श्रेष्ठले बताए ।

स्थानीय सरकारले जग्गा उपलब्ध गराएसँगै प्रदेश तथा केन्द्रीय सरकारले उपलब्ध गराएको रकममा स्थानीय सरकारले १५ प्रतिशत रकम थपेर विस्थापित परिवारलाई घर निर्माणमा सहयोग पुग्ने बाह्रबिसे नगरपालिकाले जनाएको छ । पुर्जा वितरण कार्यक्रममा पुगेका पूर्व स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले विपत्तिको मारमा स्थानीय तहको सरकारको भूमिका ठूलो हुने बताए ।

‘अहिले निर्वाचन जितेका जनप्रतिनिधिले बाह्रबिसेमा वास्तविक विस्थापितको पहिचान गरेर काम गरेको छ ।’ स्थानीय सरकारको अनुभूति जनताले गरेको उनको ठहर छ ।

हालसम्म जिल्ला भर जग्गा खरिद गर्ने ४८१ परिवार छन् त्यसमध्ये बाह्रबिसे नगरपालिकाका ३६ परिवारले जग्गा पाइसकेका छन् । त्यस्तै ५८ परिवारले घर निर्माण गरिसकेका छन् ।