दुई नेपाली सहित कोरियन टिमद्वारा जुगल हिमाल सफल आरोहण
बैशाख २२, ढाँडे । सिन्धुपाल्चोक जिल्लामा पर्ने जुगल हिमालको दुई नेपाली सहित कोरियन टिमद्वारा आरोहण सफल भएको छ ।
नेपाल र दक्षिण कोरियाको कुटनीतिक सम्बन्ध ५० बर्ष पुगेको अवसरमा कोरिया नेपाल फ्रेण्डसिप जुगल हिमाल एक्स्पिडिसन २०२४ का लागि ६,५९१ मिटरको जुगल–१, हिम चुचुरोमा चुली कोरियन टिम लिडर उम उम होङ्गिल र नेपाली २ निन्धी शेर्पा र बाबु शेर्पाद्वारा २०८१ बैशाख २१ गते दिउसो ३ः४० बजे सफल आरोहण भएको जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबोले जानकारी दिए ।
आरोहीदल जुगल हिमशृङ्खलामा रहेका ६ हजार ५ सय ९१ मिटरको ‘जुगल– १’ र ६ हजार ५ सय १८ मिटरको ‘जुगल २’ नामका चुचुराको आरोहण गर्ने उदेश्यका साथ २०८० चैत २६ गते उक्त टोली संघीय राजधानी काठमाडौंबाट सबैभन्दा नजिकको जुगल हिमाल पुगेको थियो ।
उनीहरुलाई बैशाख ७ गते जुगल हिमालको बेसक्याम्पमै पुगेर सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ र बागमती प्रदेश सभा सदस्य सरल सहयात्रीले शुभकामना दिएका थिए ।