
प्रहरीद्वारा अवैध यार्सागुम्बा र च्याउ सहित दुई पक्राउ

बैशाख १४, चौतारा । सिन्धुपाल्चोक प्रहरीले अवैध रुपमा भित्राउँदै गरिएको बहुमूल्य जडिबुटी यार्सागुम्बा र च्याउ सहित दुई जना व्यक्तिलाई पक्राउ गरेको छ ।
उक्त अवैध सामान सहित भोटेकोशी गा.पा. वडा न. ०५ बस्ने वर्ष २६ का वाङ्गेल तामाङ र सोहीका बर्ष २४ का पासाङ नुर्पु तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक निरन्जन भट्टराईले जानकारी दिए । उनका अनुसार उक्त अवैध सामाग्री बिहिबार बाह्रबिसे नगरपालिका–३ खुर्सानीबारी स्थित प्रहरी चेक पोष्टमा सवारी साधन जाँच गर्ने क्रममा फेला पारिएको हो ।
तातोपानीबाट बाह्रविसे तर्फ आउँदै गरेको बा.प्र ०२–०३७ प २८७५ नम्बरको बुलेट मोटरसाईकलमा ल्याईएको उक्त सामाग्री मोटरसाईकलमा सवार पासाङले बोकेको झोलामा भेटिएको हो । झोलामा भेटिएको यार्सागुम्बा २०३.४३० ग्राम र निलो रङको प्लाष्टिकको झोलामा राखेको साना ठुला गरि जम्मा ६६६.९२० ग्राम तौल भएको ढ्याङ्ग्रो च्याउ फेला पारीएको हो ।
उक्त अवैध सामाग्री र मोटरसाईकल सहित पक्राउ गरिएका दुवैजनालाई डिभिजन वन कार्यालय चौतारा सिन्धुपाल्चोकमा थप अनुसन्धान र कारबाहीको लागि पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।