भिमटारमा नदि उत्खनन सम्बन्धी सार्वजनिक सुनुवाई, प्रभावितलाई विशेष ध्यान दिइने नगरप्रमुखको उदघोष

निर्मल बस्नेत
१० बैशाख (२०८१) भिमटार । चौतारा साँगाचोकगढी नगरपालिका अन्र्तगत भिमटारमा नदि उत्खनन सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । नगरपालिका क्षेत्रमा पर्ने भिमटार क्षेत्रकोे नदीजन्य पदार्थ संकलन र उत्खनन सन्दर्भमा शनिबार सार्वजनिक सुनुवाई गरिएको हो ।

माझी समुदायको बाहुल्यता रहेको चौतारा साँगाचोकगढी ११ र १४ भएर बहने इन्द्रावती नदी आसपास क्षेत्रहरुको दिगो रुपमा ढुंगा गिटी वालुवा संकलन ÷उत्खनन पूर्व प्रारम्भिक वातावरणीय परीक्षणको सन्दर्भलाई लिएर ११ नम्बर वडाको आयोजनामा भएको हो । त्याहाँका स्थानीयले आफ्ना समस्या तथा गुनासा सार्जजनिक सुनुवाई मार्फत राखेका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा बिगतका दिनहरुमा नदीजन्य पदार्थ उत्खननले नदीको सतह परिवर्तन भएको, नदी आसपासको खेतीयोग्य जमिनको सुख्खापन बढेको, निर्माण सामग्री निकासी गर्दा निस्केको धुलोले बस्तीलाई पारेको असरको सन्दर्भमा उनीहरुले आवाज उठाउँदै आएका थिए । स्थानीयको आवाज र माग उपर चौतार साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले वातावरणीय पक्षलाई नै प्राथमिकतामा राखेर काम गरिने बचन दिएका छन् । नगर प्रमुख सापकोटाले सापेक्षित आधारमा विवेकपूर्वक र न्यायसंगत रुपमा अन्य वडालाई भन्दा बजेट बिनियोजन गर्दा प्रभावित वडालाई विशेष ध्यान दिईने कुरा बताए । उनले भने ‘वडाको सिंचाई, खानेपानी, शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर काम गरिनेछ ।’ उनले बिशेष जोड दिदै भने, ‘रचनात्मक र सिर्जनात्मक योजना बनाएर बडामार्फत आउनुहोस् दिल फुकाएर सहयोग गरिनेछ ।’
पूर्व प्रारम्भिक वातावरणीय परिक्षण गर्न ग्रीन बक्स सर्भेसेस प्रा.लि. नामक कन्सलटेन्टले प्रारम्भिक परिक्षणको जिम्मा पाएको छ । कन्सलटेन्टले नदीजन्य पदार्थ उत्खनन र संकलनको बखत पर्ने असर प्रभाव लगायतको बिषयमा सुक्ष्म अध्ययन र अवलोकन गरिरहेको छ ।
देश संघियतामा जानुपूर्व तत्कालिन जिल्ला बिकास समितिले जिल्लाको बिभिन्न नदीहरुको नदीजन्यपदार्थको ठेक्का लगाएर निर्माण व्यवसायीहरुमार्फत संकलन ÷उत्खनन साथै बिक्रि तथा निकासी गर्दै आईरहेको थियो । उक्त राजस्वलाई जिल्लाको समग्र बिकासमा खर्च गर्दे आईरहेको थियो । संघीय व्यवस्था लागु भएयता स्थानीय सरकार मातहत राखेर गाउँपालिका÷ नगरपालिका आफैले उक्त कार्य गर्दै आईरहेको छ । नदीजन्य पदार्थबाट संकलित राजस्व ४० प्रतिशत प्रदेश सरकार र ६० प्रतिशत रकम स्थानीय सरकारले नै खर्च गर्दै आईरहेको छ ।

इन्द्रावती माध्यमिक विद्यालयमा ११ नम्बर वडाध्यक्ष रेशनराज गिरीको अध्यक्षतामा सम्पन्न सार्वजनिक सुनुवाईमा नगरप्रमुख कृष्णप्रसाद सापकोटा, उपम्रमुख सीता थापा, सामाजिक बिकास शाखा संयोजक एवं १३ नम्बर वडाध्यक्ष रामप्रसाद गौतम, १२ नम्ब्र वडाध्यक्ष दिपेन्द्र नेपाल , पूर्व वडाध्यक्ष सुशिल बहादुर माझी, कार्यपालिका सदस्य सीता पौडेल, नगर विपद् व्यवस्थापन शाखा प्रमुख चिरञ्जीजी कट्टेल, वडा सदस्य नेत्र बहादुर माझी, ११ नम्बर वडा सचिव कृष्ण बहादुर श्रेष्ठ, इन्द्रावती माध्यमिक बिद्यालयका प्रधानाध्यापक गणेश बहादुर माझी, स्थानीय अगुवा तथा प्रभावित क्षेत्रका स्थानीय समुदाय र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।