जुगल हिमाल आरोहण गर्ने १० जनाको टोलीलाई प्रधानमन्त्री प्रचण्डले गरे विदाइ

काठमाडौँ । सिन्धुपाल्चोकमा रहेको जुगल हिमाल आरोहण गर्ने कोरियनसहित १० जनाको टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदाई गरेका छन् ।

नेपाल र दक्षिण कोरियाको कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसर पारेर जुगल हिमाल आरोहणका लागि आएका सात जना कोरियन र तीन जना नेपाली पर्वतारोहीलाई प्रधानमन्त्री प्रचण्डले नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै विदाइ गरेका हुन ।

आरोही विदाईमा प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुबोध, वागमती प्रदेसभा सदस्य सरल सहयात्री पौडेल, जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङबो लगायतको उपस्थिती रहेको थियो । नेपाल र दक्षिण कोरियाबिच दौत्य सम्बन्ध स्थापना भएको उपलक्ष्यमा जुगल हिमालको आरोहण गर्न लागिएको र हिमाल आरोहणले नेपालको पर्यटन प्रवर्द्धनमा योगदान गर्ने गाउँपालिका अध्यक्ष रेशम स्याङबाेले बताए ।
उनका अनुसा सरकारले आरोहणमा लाग्ने रोयल्टी दस्तुर मिनाहा समेत गरेको छ ।

आरोहीको टिम शनिबार जुगल हिमालतर्फ लागिसकेका छन् । नेपालीसहितको आरोहण टोलीलाई जुगल गाउँपालिकाले स्वागत गर्ने र तेम्बाथान हुँदै हिमाल आरोहणका लागि टोली प्रस्थान गर्ने गाउँपालिकाका अध्यक्ष स्याङ्बोले बताए ।

अरोहण सकेर आरोहीको टिम २०८१ वैशाख १३ काठमाडौँ फर्कने छन् । विसं २०७९ चैत २८ गतेको मन्त्रिपरिषद्को बैठकले सिन्धुपाल्चोक स्थित जुगल हिमाल आरोहणका लागि खुला गर्ने निर्णय गरेको थियो । जुगल हिमाल क्षेत्रका पाँच वटा हिमाल आरोहणका लागि खुला गरिएको छ । जुगल हिमश्रंखला काठमाडौँबाट सबैभन्दा नजिक पर्ने हिमश्रंखला हो ।