हेलम्बुमा अहिले सम्मकै हाइ अल्टिच्युड भलिबल प्रतियोगिता हुने

चैत्र १४, किउल । सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय क्षेत्र हेलम्बुमा अहिले सम्मकै हाइ अल्टिच्युड भलिबल प्रतियोगिता हुने भएको छ ।
तीन लाख पुरस्कार राशीको हाइ अल्टिच्युड भलिबल प्रतियोगिता २५०० मिटरको उचाईमा गर्न लागिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । उनका अनुसार प्रदेश स्तरीय अन्तर पालिका अध्यक्ष कप पुरुष र महिला भलिबल प्रतियोगिता गरिन लागिएको हो ।

हेलम्बु गाउँपालिकाले खेल पर्यटन प्रवर्द्धन गराउने उद्देश्यका साथ सर्वाधिक पुरस्कार राशिको हाइ अल्टिच्युड भलिबल प्रतियोगिता २०८०को आयोजना गरिएको गाउँपालिका अध्यक्ष शेर्पाले बताए । उनका अनुसार आउँदो चैत २३ गतेदेखि चैत ३० गतेसम्म (मिति २०८० चैत २३ गतेदेखि २६ गतेसम्म पुरुष र मिति २०८० चैत २७ गतेदेखि ३० गतेसम्म महिला) हेलम्बुको शेर्माथानमा आयोजना गर्न लागिएको उनले जानकारी दिए ।
प्रतियोगितामा प्रदेशका स्थानीय तहबाट पुरुष र महिला टिमहरुलाई सहभागी गराई दिन गाउँपालिकाले अनुरोध गरेको छ ।

यस्तो छ पुरस्कार राशी

१) प्रथम पुरस्कार नगद रु. ३,००,०००÷– (पुरुष), रु. ३,००,०००÷– (महिला), ट्रफी, मेडल र प्रमाण–पत्र
२) द्वितीय पुरस्कार नगद रु. १,५०,०००÷– (पुरुष), रु. १,५०,०००÷– (महिला), ट्रफी, मेडल र प्रमाण–पत्र
३) तृतीय पुरस्कार नगद रु. ७५,०००÷– (पुरुष), रु. ७५,०००÷– (महिला), ट्रफी, मेडल र प्रमाण–पत्र
उत्कृष्ट स्पाइकर, उत्कृष्ट सटर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट ब्लकर र उत्कृष्ट खेलाडीहरुलाई ट्रफी, मेडल, प्रमाण–पत्र