सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको मत गणना प्रक्रिया सुरु

दिनेश दुलाल
चैत्र १०, बाह्रबिसे । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घको निर्वाचनको मतगणना सुरु भएको छ । मतदान प्रक्रिया सकिएसंगै भरखरै मात्र सुरु भएको मतगणनामा सदस्यतर्फका उम्मेदवारको मतगणनाबाट गणना सुरु गरिएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन अधिकृत भिमप्रसाद पौडेलका अनुसार आज बेलुका ८ बजेदेखि सुरु हुने भनिएको मतगणना प्राविधिक कारणले अहिले १० बजेबाट मात्रै सुरु भएको हो । आईतबार बिहान ४ बजे सम्म सबै परिणाम आउनेगरी मतगणना सुरु गरिएको उनले बताए ।
मतगणनालाई छिटो सम्पन्न गर्न ५ ठाउँमा गणना सुरु गरिएको हो । पहिले सदस्यको मत गनिने त्यसपछि पदाधिकारी र अन्तमा अध्यक्षको मत गणना गरिने उनले बताए ।

शुक्रबार सम्पन्न उद्योग वाणिज्य सङ्घको सो निर्वाचनमा ७५.११ प्रतिशत मत खसेको थियो । निर्वाचन समितिका अनुसार दुई हजार ५ सय ६० मतदातामध्ये १ हजार ९ सय २३ मत खसेको हो ।

निर्वाचनमा व्यवसायीहरू ३ प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । संघको ११ औं अधिवेशनमा त्रिपक्षीय भिडन्त हुने भएको हो । अध्यक्ष पदमा बुद्धराज बस्नेत, शम्भुबहादुर तिमिल्सिना र सुमन खत्रीको प्रतिश्पर्धा रहेको छ । पदाधिकारी सहित ४६ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत भिमप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार ५ गते भएको मनोनयन दर्ताका क्रममा ४ पदाधिकारी तथा दुई महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । जसमा प्रथम उपाध्यक्ष भेषबहादुर बस्नेत (राजेन्द्र), तृतीय उपाध्यक्ष बिचारी पराजुली, महासचिव ईश्वर गुभाजू र सहकोषाध्यक्ष उद्वव पौडेल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै महिला सदस्य पदमा कल्याणी घिसिङ र चमेली श्रेष्ठको उम्मेदवारी परेकोमा दुवैजना निर्विरोध निर्वाचित भएका छन् ।

बाँकी ४० जनाको मतदान प्रक्रियाबाट निर्वाचित हुनेछन् । जसमा बरिष्ठ एक पदका लागि उमेश प्रधान, विदुरप्रसाद पराजुली र सूर्यबहादुर कार्कीको उम्मेदवारी परेको छ । त्यस्तै द्वितीय उपाध्यक्ष एक पदका लागि ईन्द्रबहादर राउत र राजेश श्रेष्ठको उम्मेदवारी परेको छ । त्यस्तै सचिब पदका लागि तिर्थराज पौडेल र मोहनभक्त श्रेष्ठको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै महिला कोटा बाहेक १५ खुला सदस्य पदका लागि २९ जनाको उम्मेदवारी परेको छ ।