उद्योग वाणिज्य संघमा त्रिपक्षीय भिडन्त, पदाधिकारी सहित ४६ को मनोनयन, ६ निर्विरोध

दिनेश दुलाल
चैत्र ५, बाह्रबिसे । उद्योगी, व्यापारी व्यवसायीहरूको छातासंगठन सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको २८ औ साधारणसभा तथा ११ औ अधिवेशन चैत्र ९ र १० मा हुँदैछ ।

संघको एघारौं अधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवार दायाँबाट क्रमश ः बुद्वराज बस्नेत, सुमन खत्री र शम्भुबहादुर तिमिल्सिना

साधारणसभा तथा अधिवेशन आउन ४ दिन बाँकी रहँदा आज उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको उद्योग वाणिाज्य संघले जनाएको छ । अध्यक्ष पदाधिकारी लगाएत सदस्य पदका लागि उम्मेदवारी मनोनयनका क्रममा अध्यक्ष पदमा त्रिपक्षीय भिडन्त हुने भएको छ । संघको निर्वाचन आयोगको कार्यतालिका अनुसार १ बजेदेखि ५ बजेसम्म मनोनयन दर्ता भएको हो । जसमा अध्यक्ष पदमा बुद्धराज बस्नेत, शम्भुबहादुर तिमिल्सिना र सुमन खत्रीको र अमृत कार्कीको मनोनयन दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।

पदाधिकारी सहित ४६ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत भिमप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार आज भएको मनोनयन दर्ताका क्रममा ४ पदाधिकारी तथा दुई महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । जसमा प्रथम उपाध्यक्ष भेषबहादुर बस्नेत (राजेन्द्र), तृतीय उपाध्यक्ष बिचारी पराजुली, महासचिव ईश्वर गुभाजू र सहकोषाध्यक्ष उद्वव पौडेल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै महिला सदस्य पदमा कल्याणी घिसिङ र चमेली श्रेष्ठको उम्मेदवारी परेकोमा दुवैजना निर्विरोध निर्वाचित भएका छन् ।

बाँकी ४० जनाको मतदान प्रक्रियाबाट निर्वाचित हुनेछन् । जसमा बरिष्ठ एक पदका लागि उमेश प्रधान, विदुरप्रसाद पराजुली र सूर्यबहादुर कार्कीको उम्मेदवारी परेको छ । त्यस्तै द्वितीय उपाध्यक्ष एक पदका लागि ईन्द्रबहादर राउत र राजेश श्रेष्ठको उम्मेदवारी परेको छ । त्यस्तै सचिब पदका लागि तिर्थराज पौडेल र मोहनभक्त श्रेष्ठको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै महिला कोटा बाहेक १५ खुला सदस्य पदका लागि ३० जनाको उम्मेदवारी परेको निर्वाचन समितिले तयार गरेको मनोनयन दर्ता फारममा उल्लेख छ ।

यसैबीच संघको निर्वाचन समितिले प्रकाशित गरेको निर्वाचन कार्यतालिका अनुसार अध्यक्ष पदका लागि १ लाख ६० हजार, बरिस्ठ उपाध्यक्ष पदका लागि १ लाख १५ हजार, प्रथम उपाध्यक्षका लागि १ लाख १ हजार, द्वितीय उपाध्यक्षका लागि ९० हजार, तृतीय उपाध्यक्ष पदका लागि ८१ हजार, महासचिव पदका लागि ७५ हजार, सचिव पदका लागि ७० हजार, सह– कोषाध्यक्ष पदका लागि ६० हजार र सदस्य पदका लागि २० हजार शुल्क तोकिएको छ ।

संघमा २ हजार ४ सय ८७ साधारण सदस्य रहेका छन भने आजिवन सदस्य ७३ जना रहेका छन् । संघका अनुसार साधारण सदस्यको नविकरण शुल्क स्थानीयलाई ३०० र निर्यातलाई ५ सय तोकिएको छ । त्यस्तै नयाँ दर्ताको लागि स्थानीयलाई १ हजार ५० र निर्यातका लागि १५ सय रहेको छ ।

उम्देवारले आफ्नो नाम फिर्ता लिन चाहेमा निर्वाचन कार्यक्रम तोकिएको समय सम्ममा फिर्ता लिन दरकास्त दिनुपर्ने छ । तर उम्मेदवारी दर्ता दस्तुर भने फिर्ता नहुने निर्वाचन आयोगले जनाएको छ ।उम्मेदवारको योग्यता अध्यक्ष उम्मेदवार २५ बर्ष पूरा हुनुपर्ने बिधानमा उल्लेख छ । विधान बमोजिम सदस्य नविकरण गरेको बहालवाला सदस्य रहनुपर्नेछ । अध्यक्ष पद उम्मेद्वार हुन पदाधिकारीमा एक कार्यकाल पूरा गरेको र पदाधिकारी हुन आजिवन सदस्यहरू मध्येबाट न्युनतम एक कार्यकाल कार्यसमितिमा बसेको हुन पर्नेछ ।

साधारणसभा तथा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको सिन्धुपाल्चोक उद्योग वाणिाज्य संघले जनाएको छ । उम्मेदवारी दिन उद्योगी व्यवसायीहरू सोमबार १० बजे देखि नै संघको मुख्य कार्यलय बाह्रबिसे स्थित खोर्सानीबारी पुगेका थिए ।