दुवाचौरमा भएको निःशुल्क स्वास्थ्य शिविरमा २५० ले लिए सेवा

चैत्र ३, मेलम्ची । जिल्लाको मेलम्ची नगरपालिका –७ दुवाचौरमा शनिबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २५० जनाले सेवा लिएका छन । स्तुपा सामुदायिक अस्पताल काठमाडौंको समन्वय र मेलम्ची नगरपालिका वडा नम्बर ७ को आयोजनामा स्वास्थ्य शिविर गरिएको हो ।

स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकहरुद्वारा स्त्री रोग सम्बन्धि सेवा, सामान्य चिरफार सेवा, सामान्य चिकित्सा सेवा, निःशुल्क औषधि वितरण सेवा पाएका छन् । त्यस्तै सोही शिविरबाट महिलाहरुको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर आङ खस्ने तथा फिस्टुला रोगको परिक्षण तथा परामर्श सेवा प्रदान गरिएको दुवाचौर स्वास्थ्य चौकीका प्रमुख रमिता लामाले जानकारी दिईन ।

थप उपचार गर्नुपर्नेलाई स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटी काठमाडौंमा उपचार र औषधिमा बिशेष छुट गरिने अस्पतालका प्रसाशन शाखाका प्रह्लाद लामाले जानकारी दिए ।

कार्यक्रमको उदघाटन मेलम्ची नगर प्रमुख आईतमान तामाङले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि रहेका नगर प्रमुख तामाङले सोही कार्यक्रमलाई सम्बोधन गर्दै टोल टोलमै स्वास्थ्य सेवा पु¥याउन नगरपालिका लागि परेको बताए । बिशेष अतिथि उपप्रमुख उमा प्रधानले महिलाहरुले आफूमा भएको स्वास्थ्य समस्या निर्धक्क भएर राख्न आग्रह गरिन । गाँउ घरमै विशेषज्ञ डाक्टर सहितको सेवा पाएकामा स्थानियले खुशी भएका छन् ।

कार्यक्रममा समाजसेवी डा. कृष्ण सुवेदी, मेलम्ची नगरपालिका वडा नम्बर ७ का पुर्व वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, वडा सदस्यहरु श्रीकृष्ण श्रेष्ठ, सलिना श्रेष्ठ, टकबहादुर घले, पूर्व गाविस अध्यक्ष अर्जुन गिरी, उपाध्यक्ष ग्याल्जेन दोङ लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम मेलम्ची नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पासाङ तामाङको अध्यक्षतामा भएको थियो ।