
१ सय ५७ सांसदका साथ तेस्रोपटक प्रधानमन्त्री प्रचण्डले लिए विश्वासको मत

फागुन ३०, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार विश्वासको मत लिएका छन् । प्रतिनिधिसभाको आज बसको बैठकमा प्रम प्रचण्डले १ सय ५७ जना सांसदहरुको मत पाएका हुन् । संसद् भवन नयाँ बानेश्वरमा भएको आजको मतदानमा २ सय ६८ सांसद सहभागी भएकोमा प्रम प्रचण्डलाई १ सय ५७, विपक्षीमा १ सय १० र तटस्थ १ मत परेको थियो । कुल संख्याको बहुमत संख्या हुन्छ भन्ने पक्षमा देखिएकाले सभामुख देवराज घिमिरेले प्रम प्रचण्डले विश्वासको मत पाएको घोषणा गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिएका हुन् । उक्त धारामा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान छ ।
गत फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेपछि नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी सहितका दलको नयाँ समीकरण बनेको थियो ।
त्यही दिन नेपाली कांग्रेस सरकारबाट बाहिरिएर समर्थनसमेत फिर्ता लिएको थियो। त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन परेको हो ।
प्रतिनिधि सभामा एमालेको ७७, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २१, जनता समाजवादी पार्टीको १२, एकीकृत समाजवादीका १० सांसद छन् । त्यस्तै साना केही दलहरुले समेत प्रम प्रचण्डलाई विश्वासको मत दिएको बताइएको छ ।
प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न १३८ मत आवश्यक हुन्छ । अहिले सत्ता गठबन्धनसँग १५२ रहेकोमा १ सय ५७ मत अर्थात ५ मत बढी प्रचण्डको पक्षमा झरेको छ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएको यो तेस्रो पटक हो ।
२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले त्यही २६ गते विश्वासका मत लिएका थिए । त्यतिबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उनलाई समर्थन गरेका थिए ।
२०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरबदल भयो । चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका थिए ।
त्यतिबेला सदनमा २६२ सांसद उपस्थित भएका थिए । विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो ।
अहिले ८८ सिट रहेको नेपाली कांग्रेस, १४ सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी, ६ सिट रहेको जनमत पार्टी, ४ सिट रहेको लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएनन् ।