सिन्धुपाल्चोकका दुई स्थानीय तहद्वारा ‘जनयुद्ध’ दिवसमा सार्वजनिक बिदा दिने

दिनेश दुलाल
माघ २९, चौतारा । सर्वोच्च अदालतलाई चुनौति दिंदै सिन्धुपाल्चोकका दुई स्थानीय तहद्वारा ‘जनयुद्व’ दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेका छन् । सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये चौतारा साँगाचोकगढी नगरपालिका र लिसंखुपाखर गाउँपालिकाले यस्तो निर्णय गरेका हुन् ।

सरकारले अघिल्लो सालदेखि फागुन १ गते सार्वजनिक विदा दिँदै आएकोमा त्यसलाई बदर गर्दै सर्वोच्च अदालतले शुक्रबार मात्र सूचना जारी गरेर अबदेखि ’जनयुद्ध दिवस’ मा बिदा नदिन आदेश दिएको थियो । तर देशका एकदर्जन स्थानीय तहहरुले भने जनयुद्वकै बलमा देशमा गणतन्त्र लगाएत उपलब्धी हाँसिल भएको र जनयुद्वको महत्व बिर्सन नहुने तर्क राख्दै त्यसदिनलाई विदा दिने निर्णय गरेको उनीहरुको भनाई छ । देशका अन्य पालिकाहरुको निर्णयलाई पछ्याउँदै चौतारा साँगाचोकगढी नगरपालिका र लिसंखुपाखर गाउँपालिकाले यस्तो निर्णय गरेका हुन् ।

चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीद्वारा हस्ताक्षरित सार्वजनिक विदा सम्बन्धी आज जारी गरिएको सूचनामा भनिएको छ–‘जनयुद्वको अवसरमा यस चौतारा साँगाचोकगढी नगरपालिकाको कार्यालय अन्र्तगतका वडा कार्यालय, स्वास्थ्य संस्थाहरु तथा नगरपालिका मातहातका विद्यालयहरुमा नगरपालिकाको मिति २०८०÷१०÷२५ गतेको नगरप्रमुख स्तरीय निर्णय अनुसार २०८० फाल्गुन १ गते मंगलबारका दिन सार्वजनिक विदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

त्यस्तै लिसंखुपाखर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकृष्ण श्रेष्ठद्वारा आज नै जारी गरिएको सूचनामा भनिएको छ–‘जनयुद्व दिवसको अवसरमा २०८० साल फागुन १ गते लिसंखुपाखर गाउँपालिका भित्र स्थानीय विदा दिने गाउँकार्यपालिकाबाट मिति २०८०÷१०÷२९ को निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’