सिन्धुपाल्चोकको लिसंखुपाखरमा पहिलो पटक टुङनाको तालिम

माघ २५, अत्तरपुर । लिसंखुपाखर गाउँपालिकाले सीप विकास तालिम सुरुवात गरेसंगै फरक खालको टुङना बनाउने तालिम समेत दिने भएको छ । सम्भव त यो तालिम जिल्लाकै पहिलो तालिम रहेको छ ।

लिसंखुपाखर गाउँपालिका, घरेलु उद्योग केन्द्र शाखको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक कार्यक्रम अनुसार र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको समन्वया स्थानीय स्तरमा नै रोजगारी प्रदान गर्ने उद्देश्यले सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ । पालिकाले मंगलबार एक सूचना प्रकाशित गरी मुकुण्डो, टुङनाको लागि १० दिन तथा थाङकाको लागि २५ दिनमा १०–१० जनालाई तालिम दिईने गाउँपालिकाले जनाएको छ । कला, क्षमता र सीपको विकास गर्न यस किसिमको तालिमको सुरुवात गरिएको गाउँपालिका अध्यक्ष राजु लामाले बताए ।

नेपालको संविधान, २०७२ मा रोजगारी सम्बन्धी हकलाई मौलिक हकको रूपमा समावेश गरिएको छ । सोही अनुसार पालिकाले यो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष लामाको भनाई छ । रोजगारीको हक सम्बन्धी ऐनमा तीनै तहका सरकारहरूले बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगार प्रदान गर्न आवश्यक रोजगार कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरेको छ । विपन्न वर्गका व्यक्ति जो सीप, क्षमताको अभावमा नेपालको श्रम बजारमा कहि कतै रोजगारी प्राप्त गर्न नसकेका व्यक्तिलाई प्राथमिकतामा राखी न्यूनतम् रोजगारी प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।