तातोपानी भन्सार कार्यालयलाई ६२ करोड बराबरको सुरक्षा सामग्री हस्तान्तरण

माघ २३, तातोपानी । छिमेकी मुलक चीन सरकारले तातोपानी भन्सार कार्यालयलाई ६२ करोड बराबरको सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।
सीमा क्षेत्रको सवारी साधन र लगेज जाँचका लागि आवश्यक स्क्यानर मेसिनसहित चिनियाँ तीन करोड २८ लाख अर्थात् नेपाली रुपैयाँ ६२ करोड भन्दा बढी मुल्य बराबरको सुरक्षा सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले जानकारी दिए । उनका अनुसार सोमबार सुख्खा बन्दरगाह रहेको लार्चा स्थित तातोपानी भन्सार कार्यालयमा आयोजित कार्यक्रममा नेपालस्थित चिनियाँ दूतावासका इकोनोमिक काउन्सुलर सि यू, तिब्बतको नेलाम जिल्लास्थित अध्यागमन विभागका प्रमुखसहितका चिनियाँ अधिकारीहरुले भन्सार विभागका उपमहानिर्देशक रमेश अर्याललाई सामाग्री हस्तान्तरण गरेका हुन् ।

चीनको आर्थिक सहयोगमा तातोपानीको लार्चा सुख्खा बन्दरगाहमा राख्नेगरी उक्त सामाग्री हस्तान्तरण भएको भन्सार प्रमुख केसीले बताए ।
उनका अनुसार हस्तातरण गरिएका सामाग्रीमा सवारी साधन स्क्यान गर्ने मेसिन तथा लगेज जाँच गर्ने मेसिन पनि आधुनिक मोडलको रहेको छ । उक्त मेसिनले सीमाबाट आउजाउ गर्ने सवारी साधन र व्यक्तिगत लगेज जाँचमा सहयोग पुग्ने बताईएको छ ।
स्मरण रहोस चीनबाट ६२ करोड बराबरको सामाग्री तातोपानी भन्सार कार्यालयलाई हस्तान्तरण गर्ने कुरा ७२ औं अन्तराष्ट्रिय भन्सार दिवसको सन्दर्भमा भन्सार प्रमुख केसीले जानकारी दिएका दिए ।