भाेताङका ४० किसानलाई प्राङगारिक प्रमाणिकरण चिन्ह तथा प्रमाणपत्र वितरण

माघ ९, भाेताङ । सिन्धुपाल्चोक जिल्लाकाे पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ३ भोताङका किसानलाई प्राङगारिक प्रमाणिकरण चिन्ह तथा प्रमाणपत्र वितरण गरिएको छ ।

´दिगो विकासका लागि प्राङगारिक कृषि अभियान` भन्ने नाराका साथ आज त्याहाँका किसानलाई प्राङगारिक प्रमाणिकरण चिन्ह तथा प्रमाणपत्र वितरण गरिएको हाे ।

पाँचपोखरी थाङपाल गाउँपालिका कृषि विकास शाखाको सहयोगमा सेर्च्यु बरलो साना किसान कृषि सहकारी संस्थाद्वारा सञ्चालित सहभागीतामूलक गुणस्तर निर्धारण प्रणाली (पि.जि.एस) अन्तर्गत प्राङगारिक प्रमाणिकरण चिन्ह तथा प्रमाणपत्र वितरण गरिएको कृषि शाखा प्रमुख निमराज गिरीले जानकारी दिए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष टासी लामाले अर्गानिक प्रमाणीकरणले गाउँपालिकालाई चिनाउन मद्दत पुग्ने भन्दै प्लास्टिक मुक्त पालिका बनाउन समेत यस्ता कार्यक्रमले फाइदा पुग्ने बताए । वैकल्पिक झोला प्रयोगमा ल्याइसकेको बताउदै उनले प्लास्टिक प्रयोगमा रोक लगाउने समेत सचेत गराए ।

पालिकामा करिब १० प्रतिशत मात्र जग्गा बाँझो रहेको दावी गर्दै अहिले निरन्तर किसानहरु कृषि पेशामा सक्रिय हुँदै गएकोमा खुशी व्यक्त गरे । पाँचपोखरी अब आत्मनिर्भरको बाटोमा अगाडी बढेको जानकारी दिदै पालिकामा अब आयात हैन निर्यातलाई जोड दिने उनले प्रतिवद्धता जानए ।

पालिकाद्वारा सिमानामा निमार्ण गिरएकाे प्रवेशद्वार खाल्डे सुचना केन्द्रमा कोसेली घर निर्माण गरि उत्पादन गरेका राम्रा कृषि उपजहरूलाई त्यस ठाउँमा राख्ने समेत बताए । त्यसैगरी साेही वडाका वडाअध्यक्ष ङिमाछिरिङ तामाङले लोकल रुपमा उत्पादन भएको वस्तु अब देशब्यापी बनाउन आवश्यक रहेको धारणा राखे । किसान अब धनी हुनपर्ने भन्दै निरन्तर काममा लाग्न आग्रह गरे। भाेताङमा अन्तर्राष्ट्रिय स्तरमा यहाँको उत्पादन पुर्याउन सम्भव भएको भन्दै अहिले निरन्तरता दिदैं हरियो प्रमाणीकरण हुने समेत ठाेकुवा गरे ।

प्रशिक्षक कपिल प्रजापतिले एकबर्ष भित्रमा गरेकाे प्रयास उपलब्धीमूलक भएकाेमा खुशी व्यक्त गरे । व्यवसायी किसानहरूले अफ्ट्यारोकाे बीचमा पनि निरन्तरता दिएकोमा किसानलाई धन्यवाद व्यक्त गरे । कृषकको तर्फबाट आफ्नो भनाइ राख्दै भोताङका किसान सुमेश तामाङ्ले पहिला अर्गानिक के हो र रासायनिक के हो भन्ने नै थाहा नभएपनि अहिले अर्गानिक उत्पादन गर्न सक्ने भएको बताए । आलु र कोदो ब्यापक उत्पादन भएपनि बजार नभएकोमा भने उनले चिन्ता व्यक्त गरे । किसानहरूले उत्पादन गरेकाे कृषि उपजलाई बन्यजन्तुले समेत अहिले दु:ख दिन थालेको भन्दै त्यसको व्यवस्थापन र कृषि विमाको कार्यक्रम अगाडी बढाउन गाउँपालिकाको ध्यानाकर्षण गराए ।

सेर्च्यु बरलो साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष रचना बोम्जनको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीको तर्फबाट कान्छालाल तामाङले आफ्नो भनाइ राखेका थिए । कार्यक्रमको अवसरमा ४० जना किसानलाई अर्गानिक प्रमाणीकरण प्रमाणपत्र प्रदान गरिनुका साथै सम्मान गरिएको थियो ।

कार्यक्रमको अवसरमा आर्सो नेपालले उपलब्ध गराएको टनेल किसानलाई वितरण गरिएको थियो । तालिमको प्रशिक्षक राम्जी ढकाल, वडा कृषि प्राविधिक मनिष श्रेष्ठ, पशु सेवा प्राविधिक रविन ढुंगाना लगायतले सहजीकरण गरेका थिए ।