इन्द्रावतीको दोस्रो गाँउ सभाको पाँचौं अधिवेशन सम्पन्न
माघ ७, नवलपुर । सिन्धुपाल्चोक जिल्लाकाे ईन्द्रावती गाउँपालिकाको दोस्रो गाँउ सभाको पाँचौ अधिवेशन सम्पन्न भएको छ । आजको गाँउ सभाले २ विधेयक समेत सर्वसम्मतीले पास गरेको छ ।
आज भएको गाँउसभाले शिक्षा ऐन पहिलो संसोधन विधेयक २०८० र खेलकुद बिकास विधेयक २०८० लाई सर्वसम्मतीले पास गरेको हो । यस्तै गाँउ सभाले बिनियोजन ऐन आर्थिक बर्ष २०८०/०८१ को संशाेधन प्रस्ताव योजना तथा कार्यक्रम संशाेधन सम्बन्धी प्रस्ताव (रकमान्तर) समेत पास गरेको छ । यस्तै साथै गाँउ सभाले ८ वटा कार्यविधि समेत पास गरेको गाउँपालिकाले जनाएकाे छ ।
शुन्य समयमा बोल्दै वडा नम्बर २ का अध्यक्ष श्याम बहादुर गिरीले सामाजिक सुरक्षा भत्ता हात हातमा वितरण गर्नुपर्ने जसले गर्दा जनता र जनप्रतिनिधिको दुरी कम हुने धारणा राखे । कक्षा १२ सम्म नै दिवा खाजाको व्यावस्था गनुपर्ने तर्क राख्दै एक वडा एक दुध चिस्यान केन्द्र स्थापना र मल वितरणमा अनुदानको व्यवस्था हुनुपर्नेमा उनले जोड दिए ।
यस्तै वडा सदस्य खिल प्रसाद आचार्यले अघिल्लो बैठक स्थगित हुनुको कारण माग गर्नुका साथै गाउँसभाका सदस्यहरुलाई टेवल माग गरे । वडा सदस्य टोम प्रसाद भट्टराईले वडा सदस्यहरुलाई पनि अधिकार दिएर योजना अनुगमन गर्ने जिम्मेवारी दिनुपर्ने सुझाब दिए । यस्तै वडा सदस्य हेमन तामाङले जनप्रतिनिधि र कर्मचारी बिचको खाडल पुरिनुपर्नेमा जोड दिए ।
शुन्य समयमा गाँउसभाका सदस्यहरुको गुनासोलाई सम्बोधन गर्दै ईन्द्रावती गाँउपालिकाका अध्यक्ष झम्कनाथ नेपालले इन्द्रावतीमा सत्तापक्ष र प्रतिपक्षी नभएको भन्दै सबै जनप्रतिनिधिको समान भएको बताए । सत्तापक्ष र प्रतिपक्षी भन्नु मनोवैज्ञानिक असर भएको नेपालको भनाइ छ । काम गर्ने क्रममा कमी कमजोरी र त्रुटि हुने भएकाले कमजोरीलाई सच्याउदै जानुको विकल्प नभएको उनकाे तर्क छ । अघिल्लो गाँउसभा गणपुरक सङ्ख्या नपुगेका कारण स्थगित भएको अध्यक्ष नेपालले स्पष्ठ पारे । उनले इन्द्रावतीलाई समृद्ध बनाउनका लागी तथा स्थानीयलाई लाभान्वित बनाउनका लागी सबैसँग बसेर छलफल गर्न आफु तयार रहेको बताए । उनले किसानलाई दुध उत्पादनमा लाग्न आग्रह गर्दै चिस्यान केन्द्र राख्नको लागी गाउँपालिका सकारात्मक रहेको बताए । मल बिक्री वितरणमा आएको समस्या समाधान गर्नका लागी उनले प्रमुख प्रशासकीय अधिकृतको ध्यानाकर्षण गराए ।
विधायन समितिका संयोजक तथा वडा नम्बर ९ का वडा अध्यक्ष बाबुराम लामाले शिक्षा ऐन पहिलो संंशोधन विधेयक २०८० प्रस्तुत गरे भने गाउँपालिकाका प्रवक्ता सशिनाथ आचार्यले खेलकुद विकास विधेयक २०८० प्रस्तुत गरे ।
उपाध्यक्ष सोभना तामाङले आर्थिक बर्ष २०८०÷८१को संशोधन प्रस्ताव पेश गरिन । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले बनेका कानुन र निर्देशिका कार्यविधि प्रस्तुत गरेका थिए । अहिलेसम्म गाउँपालिकामा ८ वटा कार्यविधि निर्माण गरि कार्यान्वयनमा आएको दुलालले जानकारी दिए ।