‘वैज्ञानिक र वस्तुवादी योजना बनाएर बन्यजन्तुको नियन्त्रण गर्छौं’– मेयर सापकोटा

पौष ३, चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कुष्णप्रसाद सापकोटाले जनताको बालीनाली नष्ट गर्ने बन्यजन्तु नियन्त्रण गर्न नगरपालिकाले वैज्ञानिक र वस्तुवादी योजना बनाएर नियन्त्रण गरिने बताएका छन् ।

नगरपालिकाको वडा नम्बर १३ स्थित कुन्डलादेवी माध्यामिक विद्यालयको ३४ औं वार्षिकोत्सव, अभिभावक भेला तथा भूपू विद्यार्थी पुर्नमिलन मूल समारोह कार्यक्रमलाई सम्वोधन गर्दै मेयर सापकोटाले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि रहेका मेयर सापकोटाले नगरपालिकाले बँदेल, बाँदर लगाएत बन्युजन्तुका लागि खोर तथा विद्युतीय झड्का दिएर नियन्त्रण गर्न नगर कार्यपालिकाको बैठकमा छलफल भएको समेत उनले सुनाए । बन्यजन्तु नियन्त्रण गरिदिन स्थानीयको गुनासोलाई सम्बोधन गर्दै मेयर सापकोटाले बाली संरक्षणको लागि बन्यजन्तु नियन्त्रण गर्न अन्य संघसंस्थाहरुसंग समेत परामर्श गरिरहेको जनाउँदै यसको सुरुवात ११ नम्बरमा केही अभ्यास भईरहेको समेत जानकारी दिए ।

वैज्ञिानिक र वस्तुवादी कुरालाई कार्यान्वयन गरेर जाने कुरा आफूले समेत सोच बनाएको बताउँदै मेयर सापकोटाले भने–‘लगानी गर्ने कुरामा द्धिविधा छैन दिल खोलेर जनताका समस्याहरु समाधान गर्ने कुरामा प्रयत्नशिल छौं ।’ तर लगानी मात्रै ठूलो कुरा नभएको हुनाले नयाँ प्रविधिहरुको प्रयोग गर्ने र नियन्त्रण गर्ने कुरा मुख्य भएको उनको जोड छ । क्षणिक कुरामा रमाउने तर दिगो विकास गरेर अगाडि बढ्न नसक्ने र कार्यान्यन पनि ठिक ढंगले नहुने जस्ता कुराहरुलाई सोचविचार गर्ने र आवश्यकता अनुसार काम गर्न नगरपालिका तयार भएको जनाउँदै उनले भने–‘के कति लगानी गर्न पर्छ नगरपालिका दृढ र प्रतिवद्ध छ ।’ अर्को एक प्रसंगमा मेयर सापकोटाले विकास निर्माणमा ठूलोसिरुवारीबासीको सक्रियता बढेको भन्दै अन्य वडाहरु भन्दा १३ नम्बर वडा अगाडि रहेकोमा प्रशंसा गरे । नगरले पहिलो प्राथमिकता शिक्षालाई दिएको भन्दै शिक्षालाई गुणस्तरीय शिक्षाको रुपमा विकास गरिने बताए ।

कार्यक्रमका विशेष अतिथि सामाजिक विकास संयोजक एवम १३ नम्बर वडाका वडाअध्यक्ष रामप्रसाद गौतमले विकास र पूर्वाधार निर्माणको हिसाबले १३ नम्बर वडा ‘समृद्ध ठूलोसिरुवारी’ निर्माणको चरणमा रहेको बताउँदै अबको संकल्प जनताको आर्थिक जीवनस्तर उकास्ने कुरामा रहेको बताए । विकासको नमुना ठूलोसिरुवारी बनाउने अभियान अन्र्तगत जलकिनी देखि डौठे सम्मको मोटरबाटो यसै बर्ष कालोपत्रे हुन लागको समेत उनले जानकारी दिए । शिक्षा, स्वास्थ्य, कृषि तथा खानेपानी लगाएत योजनाहरुको वडाले प्राथमिकता साथ काम गरिरहेको जनाउँदै वडा अध्यक्ष गौतमले ठूलोसिरुवारीका विद्यालयहरुमा निरन्तर चलेको दिवा खाजा कार्यक्रम सिन्धुपाल्चेक जिल्लाकै नमुना भएको दावी गरे ।

कार्यक्रममा पूर्व जनप्रतिनिधि ईन्द्रबहादुर नेपाल, सोही विद्यालयका पूर्व प्रध्यानध्यापक नारायण गौतम, राजनैतिक दलका प्रतिनिधि, छिमेकी विद्यालयका प्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको उपस्थितिमा ३४ औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरिएको हो । बुधबार भएको विद्यालयको वार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्रअले वार्षिक प्रगतिको प्रतिवेदन प्रस्तुत गरेका थिए भने विद्यालयका बालबालिकाहरुले विभिन्न मनोरञ्जात्मक साँस्कृति प्रस्तुति दिएका थिए ।