लिसंखुपाखरकी काजल बनिन् नेपालकै कान्छी अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री
चाैतारा । सिन्धुपाल्चोक जिल्लाकाे लिसंखुपाखर गाउँपालिकाकी काजल श्रेष्ठ नेपालकी कान्छी अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री बनेकी छन् । वर्ल्ड तेक्वान्दोले आयोजना गरेको १२६औं इन्टरनेशनल ग्योरोगी रेफ्री सेमिनारमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका-५ जेठलकी काजलले उक्त उपलब्धि हासिल गरेकी हुन् ।
अन्तर्राष्ट्रिय रेफ्रीको कोर्स पास गरेपछि उमेरले भर्खर २६ पुगेकी श्रेष्ठले तेक्वान्दोमा आफू नेपालकै सबैभन्दा कान्छी रेफ्री बनेकी बताएकी छन् । अन्तर्राष्ट्रिय रेफ्री बनेपछि काजलले अब साग र एसियन गेम्स अफिसियल स्तरको तेक्वान्दो खेलाउन पाउनेछिन् ।
त्रिभुवन आर्मी क्लबबाट तेक्वान्दा खेल्दै आएकी काजलले सानै उमेरदेखि तेक्वान्दो खेलमा लागेर सन् २०१४ मै ताइवानमा भएको दशौँ जुनियर वर्ल्ड च्याम्पियनसिप खेलेकी थिईन् भने २०१९ मा नेपालमै भएको १३औं सागमा ४६ केजी तौलमा स्वर्ण जितेकी थिइन् । त्यस्तै, उनले सन् २०२३ अगष्टमा कोरियामा भएको एमबीसी कप अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा रजत पदक जितेकी थिईन ।
गत जेठमा अजरबैजानमा भएको विश्व तेक्वान्दो प्रतियोगितामा भागलिन जाने क्रममा गाउँपालिकाले खेलाडीलाई हौसला र प्रोत्साहनको लागी भन्दै गाउँपालिकाले उनलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।
अजरबैजनमा हुने प्रतियोतिामा भाग लिन जाने क्रममा खर्चको अभावमा भौतारिएकी काजललाई पालिका अध्यक्ष लामाले तत्काल दुईलाख उपलब्ध गराएका थिए । काजलले अजरबैजनमा नजितेपनि कोरियामा भएको अन्तराष्ट्रिय प्रतियोगितामा रजत पदक हात पार्न सफल भईन । लिसंखु पाखर गाउँपालिका वडा नं ५ की काजल सार्कमा स्वर्ण पदक बिजेता खेलाडी हुन् ।