पालिका मध्येकै ठूलो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता चौतारामा, ६६ विधामा एकहजार खेलाडी सहभागी

दिनेश दुलाल
पुस १६ (२०८०), चौतारा । स्थानीय तहहरुले पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता गरिरहँदा पालिका मध्येकै सबैभन्दा ठूलो प्रतियोगिता चौतारा साँगचोकगढी नगरपालिकामा भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा सोमबारबाट भएको छैटौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उदघाटन नगरप्रमुख कृष्णप्रसाद सापकोटाले गरेका हुन् ।

रेफ्रीलाई खेलकुद सामाग्री दिएर प्रतियोगिताको उदघाटन गर्नुहुँदै नगर प्रमुख कृष्णप्रसाद सापकोटा

खेलाडीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको शुभराम्भ गरेका मेयर सापकोटाले उदघाटन समारोहलाई सम्बोधन गर्दै खेल क्षेत्रले हाम्रो शान, ईज्जत र खेलको कलाकौशलताले नगरको मात्रै होईन जिल्ला र देशकै सम्पतिको रुपमा विकास गर्न सकिएको बताए । सहभागिता, भावना, मनोविज्ञान र सकृयताको हिसाबले जुनसुकै कोणबाट हेर्दापनि उत्कृष्ट ढंगले प्रतियोगिता हुन लागेको प्रति प्रसन्न व्यक्त गर्दै कार्यक्रमको व्यवस्थापन गर्ने स्वयमसेवक देखि रेफ्री, प्रशिक्षक लगाएत व्यवस्थापनमा खटिने टिमलाई उनले धन्यवाद दिए । संस्थागत होस वा वैयक्तिक जुनसुकै विधामा पनि सबै क्षेत्रको विकासका लागि नगरपालिकाले सहयोग गर्ने नगरप्रमुख सापकोटाले सहयोग गर्ने समेत प्रतिवद्वता जनाए ।

कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राबहादुर केसी, सामाजिक विकास संयोजक तथा १३ नम्बरवडाअध्यक्ष रामप्रसाद गौतम, ५ नम्बर वडाअध्यक्ष शिव श्रेष्ठ, ४ नम्बर वडाअध्यक्ष कुमार शर्मा, १४ नम्बर वडाअध्यक्ष उद्वव नेपाल लगाएत वडाअध्यक्षहरु, नगर शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख राजनैतिक दलका प्रतिनिधि, प्रहरी लगाएत सहभागी थिए ।

३ दिन सम्म हुने उक्त प्रतियोगितामा कराँते, भलिबल, हाईजम्प, लङजम्प, दौड, ज्याबलिङ थ्रो, सर्टफुट लगायत ६६ विधामा खेलहरुको प्रतिस्पर्धा गराईने नगरखेलकुद विकास समितिका अध्यक्ष अमृतमान श्रेष्ठले बताए ।
उनका अनुसार चौतारा साँगाचोक नगरपालिका भरीका एक निजी विद्यालय सहित २२ मावि तहका विद्यालयहरुका एकहजार भन्दा माथि विद्यार्थीहरु प्रतियोगितामा सहभागि हुने छन् । विद्यालय र विद्यार्थीहरुको संख्याको हिसाबले सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये यो नै सबैभन्दा ठूलो सहभागिता हो ।

निर्माधिन चौतारा टुँडिखेलको मैदानलाई सम्याएर खेलकुद गतिविधि गराईएको थियो । विद्यार्थी तथा स्थानीयको बाक्लो उपस्थितिका बीच ३ दिन सम्म हुने प्रतियोगिता बुधबार सम्पन्न गरिने नगर खेलकुद विकास समितिका सचिव अशोक पराजुलीले जानकारी दिए । उनका अनुसार समापन समारोहमा नगर प्रमुख सापकोटा नै सरिक हुनेछन् । सबैभन्दा बढी स्वर्ण पदक ल्याउने विद्यालयहरुलाई पहिलो, द्वितीय र तृतीय स्थान छनौट गरी शिल्ड, प्रमाणपत्र र पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।