मेलम्चीमा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
पुस ९, मेलम्ची । मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज बाट मेलम्चीमा सुरु भएको छ । प्रतियोगिताको उदघाटन मेलम्ची नगरपालिकाका प्रमुख आईतमान तामाङले गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथी रहेका मेयर तामाङले खेलले खेलाडीहरुलाई अनुशासित बनाउने उल्लेख गर्दै वडा–वडामा खेल मैदान बनाउने काम भइरहेकोले मैदान बनेपछि थप खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए । खेलाडीहरुको सहजताका लागी खेलकुदका लागी आवश्यक सम्पूर्ण संरचना निर्माण गर्ने उदघोष गर्दै मेयर तामाङले मेलम्ची ११ मा रहेको बगरमा निमार्णाधिन खेल मैदान संरक्षण गर्ने जिम्मा नगरपालिकाले लिने तथा संरक्षण गर्ने प्रतिबद्धता जनाए । हरेक विद्यालयमा खेलकुद प्रशिक्षक र नृत्य प्रशिक्षक राख्ने र आगामी दिनमा सबै खेलकुदलाई समेट्दै अगाडि बढ्ने प्रमुख तामाङको भनाई छ ।
कार्यक्रममा पूर्व बागमती प्रदेशका कृषि तथा पशुपन्छि राज्य मन्त्री इन्द्रमाया गुरुङ, मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान, निवर्तमान उपप्रमुख भगवती नेपाल, इन्द्रावती क्याम्पसका प्रमुख राधाकृष्ण श्रेष्ठ, शिक्षा युवा तथा खेलकुद विकास शाखाका अधिकृत सुधिनराज बुढाथोकी लगायतले सुभकामना व्यक्त गरेका थिए ।
प्रतियोगितामा नगरपालिका भित्रका २२ वटा माध्यमिक विद्यालयहरु सहभागी रहेका छन् । प्रतियोगितामा भलिवल, कराँते, रिलेदौड, हाइजम्प, लङजम्प, सर्टफुट, ज्याभलिङ थ्रो लगायतका खेलहरु खेलाइने शिक्षा युवा तथा खेलकुद विकास शाखाका अधिकृत सुधिनराज बुढाथोकीले जानकारी दिए ।