कफी सहकारी संघ सिन्धुपाल्चोकको ११ औं वार्षिक साधारणसभा सम्पन्न
पुष ८, सुकुटे (सिन्धुपाल्चोक) । कफी सहकारी संघ सिन्धुपाल्चोकले आफ्नो ११ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
कफी सहकारी संघ लिमिटेड सिन्धुपाल्चोकको शनिवार सुकुटेमा आयोजित ११ औं वार्षिक साधारणको बागमति प्रदेश सांसद सरल सहयात्री पौडेलले उदघाटन गरेका हुन् । साधारणसभाको उदघाटन पछिको मन्तव्यलाई सम्बोधन गर्दै सांसद पौडेलले राज्यका विभिन्न निकायबाट कफी व्यवसायीलाई मध्यनजगर गरि कार्यक्रमहरु बनाउनुपर्ने तर्क राख्दै त्यसको समान रुपमा सवै व्यवसायीले लाभ लिन पाउनुपर्ने धारणा राखे ।
सिन्धुपाल्चोकमा उत्पादन भएको कफीलाई गुणस्तरीय बनाएर विश्वको कुना कुनामा कफीको सिन्धुपाल्चोक ब्राण्डलाई चिनाउनका लागि कफी उत्पादकहरु लाग्नुपर्ने पौडेलले सुझाव दिए । अहिले सिन्धुपाल्चोकमा कफीको राम्रो उत्पादन भएको भन्दै अझै यसलाई व्यवस्थापन गरि गुणस्तरमा ध्यान दिएर विक्री बिताण गर्नुपर्ने उनको भनाई छ । कार्यक्रममा साना किसान कृषि सहकारी संघका जिल्ला अध्यक्ष मित्रलाल चौलागाईले अहिलेको समयमा प्रविधिको उच्च प्रयोग गरि नयाँ तरिकाले कफी प्रशोधन गरेर छिटो छरितो तरिकाले बिक्री बितरण गर्नुपर्ने कुरामा कृषकहरु लाग्नुपर्ने बताए ।
कार्यक्रममा यस वर्ष कफीको गुणस्तरीय पहिचान प्रवद्र्धन तथा प्रोत्साहन प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल कफी व्यवसायीलाई कफी सहकारी संस्थाले प्रशंसा पत्र, उत्कृष्ट किसानमा गुणस्तरीय कफी उत्पादक सहकारीका शेयर सदस्य तथा गुणस्तरीय कफी उत्पादकलाई कृषी सामग्री हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा संघकी अध्यक्ष मन्दु थापाले आर्थिक वर्ष ०७९।०८० मा भएको प्रगती प्रतिवेदनमा प्रस्तुत गरेकी थिईन । सिन्धुपाल्चोकमा उत्पादित प्रांगरिक (अर्गानिक) कफी अब सिन्धु ‘ब्रान्ड’ नाममा विदेश निर्यात गराईएको समेत उनले जानकारी दिईन । यसअघि सुनकोसी ब्रान्ड नाममा कफी विदेश निर्यात हुँदै आएकोमा सिन्धुपाल्चोककै पहिचान दिन सिन्धु अर्गानिक कफी ब्रान्ड नाम दिइएको संघकी अध्यक्ष थापाले बताइन् । पछिल्लोपटक जिल्लाभर कफी खेती विस्तार भएको तर सरकारले किसानले उत्पादन गरेको कफीलाई १५ प्रतिशत भ्याट लगाएर हतोत्साहित बनाएको भन्दै आक्रोस पोखिन ।
जिल्लामा उत्पादित कफीले विगत १० वर्षयता विदेशी बजार लिँदै आएको छ । दक्षिण कोरिया सिन्धु कफीको सबैभन्दा ठूलो बजार हो । त्यहाँ १० वर्षदेखि यहाँको कफी निर्यात भइरहेको छ । विदेशमा बजार फैलाउँदै सिन्धु कफी ५ वर्षदेखि अस्ट्रेलिया र ४ वर्षदेखि जापान निर्यात भइरहेको संघले जनाएको छ । संघका अनुसार गत वर्ष कोरियामा चार, अस्ट्रेलियामा तीन र जापानमा दुई टन ग्रेडिङ गरिएको ग्रिनविन कफी निर्यात भएको थियो । ‘पछिल्लो समय वार्षिक १० टनसम्म सिन्धु कफी विदेशी बजारमा पुग्दै आएको छ,’ अध्यक्ष थापाले भनिन् ।
जिल्लामा वार्षिक औसतमा २५ टन ड्राइपार्चमेन्ट कफी उत्पादन हुँदै आएको छ । गत वर्ष झन्डै २६ टन ड्राइपार्चमेन्ट कफी उत्पादन भएको संघको तथ्यांक छ । ड्राइपार्चमेन्ट कफी प्रशोधन र ग्रेडिङपछि विदेशी बजारमा जाँदै आएको छ ।
संघको कार्यालय सुकुटेमा रहेको छ । आफ्नै भवनमा संघले ११ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । कार्यक्रममा जिल्ला भरका कफि उत्पादक सहकारी तथा अगुवा किसानहरुको प्रतिनिधित्व भएको थियो ।