सिन्धुपाल्चोकको दुर्भाग्य ः मोहनलाई खुँदो, माधवलाई सकस
पुष ६, (२०८०) चौतारा । संघीय संरचना पछि दुईवटा क्षेत्र रहेको सिन्धुपाल्चोक गठबन्धनले जितेर पनि पछिल्लोपटक बत्ती मुनिको अध्याँरो सावित भएको छ । २०७९ को संघ तथा प्रदेशसभाको चुनावमा क्षेत्र नम्बर १ बाट माधव सापकोटा ‘सुवोध’ र क्षेत्र नम्बर २ बाट मोहन बस्नेतले जितेका थिए । मोहन बस्नेतले बिगत एकदशक चुनावी प्रतिश्पर्धा गरेको आफ्नो थातथलो छोडेर २ नम्बर क्षेत्रमा प्रवेश गरेका थिए भने माधवले आफ्नै काका बा उठेको क्षेत्र आफ्नो पोल्टामा पार्न सफल भएका थिए । बस्नेत पुरानो अनुहार हुन भने सापकोटा चुनावी प्रतिश्पर्धामा बिल्कुलै नयाँ अनुहार थिए । तर पनि उनले एमालेको पकड रहेको क्षेत्र तथा प्रभावशाली नेता सरेश नेपाललाई हराएर जित हाँसिल गरेका थिए । युवा झर्भराउँदो जोश जाँगर भएका माधव सापकोटाको लागि संसद भवन जति नौलो र सुनौलो अवसर थियो । त्यतिनै आफ्नो क्षेत्रमा चुनाव ताका जनतालाई दिएका आश्वासन र विकासका योजनाहरु ल्याउन चुनौति र कठिनायी थियो । नयाँ जोशजाँगरका साथ संसदमा छिरेका सापकोटाले छोटो समयमै लोकप्रियता हाँसिल गर्न सफल भए । सिंगो संसदलाई उनको दमदार प्रस्तुतीले आर्कषित मात्र गरेन सामाजिक सञ्जालमा समेत उनको प्रंसशा र बधाईले भरिपूर्ण बनायो । संसदमा उनले पटक–पटक विविध सवालमा राखेको दमदार प्रस्तुती नै उनको प्रसंशाको कारक बन्यो ।
जब आफ्नो निर्वाचनतिर उनी फर्के जनताको बाचा बन्धन र विकासका ठूला सपनाहरुको बग्रेल्ती समाल्न भने उनलाई फलामको चिउरा सरह भयो । विषय बस्तुमा प्रखर वक्ता भएपनि बजेट वितरण र बाँडफाँडका सन्दर्भमा उनी नराम्रोसंग चुके । आफ्नो क्षेत्रमा भनेजति बजेट नपरेपछि माओवादी भित्रकै कार्यकर्ता अहिले निराश छन् । स्वयम सापकोटा समेत पहिला भन्दा भाषणबाजीमा सुस्ताएका देखिएको उनका प्रस्तुतीले बताउँछ । यो क्षेत्रमा अहिलेका बालवाला मन्त्री मोहन बस्नेतले बजेट हाल्न सघाउँदैनन् किनभने उनी २ नम्बर क्षेत्रबाट निर्वाचित भएका हुन् । बजेट हाले सापकोटालाई राजनैतिक फाईदा पुग्ने ठानेर उनी पन्छिएका छन् र आफ्ना कार्यकर्ता र शुभचिन्तक जनता सामु भन्न थालेका छन् –‘म भए टन्नै बजेट हाल्थें मेरो क्षेत्र परेन’ । यो अस्त्र अर्को पटकको चुनावको लागि उनले प्रयोग गर्नेछन् । किनकी अर्को चुनावमा उनी आफ्नै गृह क्षेत्रमा चुनाव लड्न आउने छन् ।
२०७४ सालको निर्वाचनमा उनी सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभा उम्मेदबार थिए । तत्कालीन समयमा उनी सञ्चारमन्त्री रुपमा थिए । उक्त निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रले तालमेल गरेको थियो । उक्त क्षेत्रमा माओवादी केन्द्रका नेता अग्नी सापकोटा उम्मेदवारका रुपमा मैदान थिए । २०७४ सालको निर्वाचनमा सभामुख अग्निप्रसाद सापकोटा र बस्नेतबीचमा ‘ह्याकुल्लाले पेल्ने’ शब्द निकै चर्चित भयो । उक्त निर्वाचनमा बस्नेत पराजित भए । वाम गठवन्धनको उम्मेदवार हुँदै उनी सभामुखसम्म भए । बस्नेत पाँच वर्ष संसद बाहिरै बसे ।
२०७९ मंसिर ४ गते भएको निर्वाचनमा नेपाली काग्रेस र माओवादी केन्द्रले सहकार्य गरेर उम्मेदवार उठाउने भए । आफू उम्मेदवार हुँदै आएको सिन्धुपाल्चोक–१ उनले दाबी गरे पनि पाएनन् । सत्ता गठवन्धनको भागबन्डामा उक्त क्षेत्र माओवादीको भागमा परेपछि उनी क्षेत्रविहीन जस्तै हुन लागेका थिए । उनलाई सिन्धुपाल्चोक २ बाट निर्वाचन लड्न पार्टीले प्रस्ताव ग¥यो । उनी यो चुनौती लिन तयार भए । उक्त क्षेत्रमा दुई पटक निर्वाचित भएका नेकपा एमालेका शेरबहादुर तामाङ उम्मेदवार थिए ।
एमाले विभाजनको समयमा माधव नेपालतिर जाँदै फेरि एमालेमा फर्किँदै कार्यालय सचिवसम्म भएर अध्यक्ष केपी शर्मा ओली निकट भएका तामाङ उक्त क्षेत्रमा तेस्रो पटक जितेर आफ्नो हाट्रिक पूरा गर्ने दाउमा थिए । तर उनलाई बस्नेतले ब्रेक लगाउदै सांसदको रुपमा प्रतिनिधि सभामा प्रवेश गरे । उनीसँगै सिन्धुपाल्चोकको दुवै क्षेत्र सत्ता गठवन्धनका उम्मेदवारले जिते । चुनाव ताका बस्ेतले मतदाताहरुलाई एउटै आश्वासन र लोभ फसाएका थिए – ‘२ नम्बर क्षेत्रका जुन वडाले खसेको मतको सबभन्दा बढि प्रतिशत गठबन्धनलाई हाल्छ त्यस वडालाई २५ करोडको विकासे चिट्ठा’ भन्ने घोषणा गरे । यहि कल्पनाको चिट्ठामा भुलेर यस क्षेत्रका जनताले उनलाई जिताएपनि तर उनले घोषणा गरे अनुसार जनताले न बजेट पाए न अन्य विकास नै । अहिले त्याहाँका जनता पछुत्तो मानिरहेका छन् । स्वयम कांग्रेसकै कार्यकर्ता समेत निराश बनेको एक स्थानीय कार्यकर्ताले बताए ।
किनकी बस्नेत यो क्षेत्रको स्थायी उम्मेदवार होईनन् । अर्कोपटक आफ्नै क्षेत्रमा जानुत छँदैछ अरुको क्षेत्रमा मरिमेटेर किन विकास खन्याउन ? उनको मनस्थिति त्यस किसिमको हुन सक्ने एमालेका एक नेताको ठम्याई छ । उनले गर्ने भन्दा बढी बजेट २ नम्बर क्षेत्र अन्र्तगत (क) का प्रदेश सांसद एवम भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले खन्याएका छन् । ‘मलाई थुन्चेभरी भोट दिनुहोस म विकासको बाकस लिएर आउँछु ’ भन्ने उनको बोली सार्थक भएको माओवादीकै कार्यकर्ता बताउँछन् । युवराजले सोही क्षेत्रमा भारी मात्रमा बजेट खन्याएपछि उता मन्त्री बस्नेतलाई भने हाईसन्चो भएको छ । मन्त्री दुलाल आगी २०८४ को प्रतिनिधिसभाका लागि त्यस क्षेत्रका सम्भावित उम्मेदवार हुन् ।
०७० मा टिकट पाएर चुनाव जितेका बस्नेत मन्त्रीसमेत भईसकेका व्यक्ति हुन् । २०७४ मा भने उनले चुनाव पुनः हारे । उनी केही महिनाअघि चर्चामा रहे तर मन्त्री भएनन् ।
तर अहिले चर्चा नै नभई एकै पटक मन्त्रीमा नियुक्त भए । मन्त्री भएसंगै एउटा लोकप्रिय नारा उनले लगाए–‘उपचार अभावमा कसैलाई मर्न दिइँदैन’ । सुरुमा उनको यो नारा निकै प्रसंसाभावले सामाजिक सञ्जालमा विक्यो । ‘उपचार अभावमा कसैलाई मर्न दिइँदैन’ भन्ने स्वास्थ्यमन्त्रीकै क्षेत्रमा चारवटा ‘बिरामी बचाऊ अभियान’ मा अहिले तड्पिरहेका छन् ।
पछिल्लो समय स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले जहाँ भाषण गर्दा पनि भन्ने एउटा वाक्य हो– उपचार अभावमा कसैलाई पनि मर्न दिइँदैन, बिरामी भए अस्पतालको बेडमा गएर सुतिदिनू, उपचार खर्च सरकारले व्यहोर्छ ।
तर स्वास्थ्यमन्त्री बस्नेतको बोली र व्यवहारमा भने तादम्यता पाइँदैन । किनकि उनकै निर्वाचन क्षेत्र सिन्धुपाल्चोक– २ मा अहिले चारवटा ‘बिरामी बचाउ अभियान’ चलिरहेको छ ।
बस्नेत निर्वाचित क्षेत्रमा अहिले ‘पूर्ण गिरी बचाउ अभियान, मुकेश गिरी बचाउ अभियान र रीता ज्योति बचाउ अभियान’ चलिरहेको छ । यहाँ यसरी अभियान नचलेका वा नचलाइएका थुप्रै बिरामी छन्, जो जीवन–मरणको दोसाँधमा छट्पटाइरहेका छन् ।
स्वास्थ्यमन्त्री बस्नेतले ‘उपचार अभावमा कसैलाई मर्न दिइँदैन’ भनेर गर्ने भाषण सस्तो लोकप्रियता र सार्वजनिक खपतका लागि मात्रै भएको सिन्धुका बासिन्दाले आलोचना गरिरहँदा उनी भने जनताको आलोचनालाई वेवास्ता गरिरहेको २ नम्बर क्षेत्रका बासीको आरोप छ । अबको बाँकी ४ वर्षमा समेत यहि हबिगत सिन्धुपाल्चोकका २ क्षेत्रका बासीन्दाले व्यहोर्नुपर्ने छ या नयाँ आयम थपिने छ त्यो भने हेर्न बाँकी नै छ ।