
व्यवसायी मैत्री कानुन निर्माण गर्दैछौं – मन्त्री चित्रकार

निर्मल बस्नेत
पौष ४, (२०८०) चौतारा । बागमती प्रदेश सरकार उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले व्यवसायी मैत्री कानुन निर्माण गर्ने बताएका छन् ।
नेपालको वर्तमान कानुन उद्योगी र व्यवसायी मैत्री नभएकोले प्रदेश सरकारले निर्माण गरेको २०७६ सालको कानुन संसोधन गर्न लागेको उल्लेख गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकले जिल्ला स्थित सरोकारवालाहरुसंग गरेको अन्तरक्रिया गोष्ठी कार्यक्रममा बोल्दै मन्त्री चित्रकारले व्यवसायी हकहितको लागि मूख्य बाधक भनेको बिगतमा बनेको ऐन, नीति निर्देसिका नै भएको दाबी गरेका छन् । मन्त्री ताम्राकारले भने ‘हामी प्रदेश सरकारमार्फत व्यवहारीक र बस्तुवादी नियम बनाई नेपालको बजारमा बिक्ने र टिक्ने जनशक्तिको बिकास गर्न लागि पर्नेछौँ ।’ तर सोको लागि अनुकुल वतावरण सिर्जना गर्न सबैले पहल गर्नुपर्ने उनको जोड छ । मन्त्री ताम्रकारले बजार अनुगमन ऐन २०७५ ले संस्थागत बिकास गर्न नसकेकोले नयाँ निर्देसिका जारी गर्ने तयारीमा रहेको समेत जानकारी गराए । उनले सिन्धुपाल्चोकको नदीहरुमा निर्माण गरिएको क्रसर उद्योगहरुले प्राकृतिक स्वरुप बिगारेको पाएकोले यसप्रति व्यवसायीहहरुलाई ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख वालकृष्ण श्रेष्ठ, उपप्रमुख पदमनाथ नेपाल, निमित्त प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ, निवर्तमान जिल्ला समन्वय समिति प्रमुख कृष्ण गोपाल तामाङ, चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्त्रर ५ का अध्यक्ष सिव श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष जीवनप्रसाद श्रेष्ठ, सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका कार्यकारी समिति सदस्य उजारसिं तामाङ, जिल्ला घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उषा तामाङ, उघु उद्यमी संघ सिन्धुपाल्चोकका अध्यक्ष सानुमाया गुरुङ र मेलम्ची नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कार धितालले व्यवसाय हकहित र उद्योगको बिकास संरक्षण र प्रवर्धनको पक्षमा जोडदार आवाज उठाएका थिए । उनीहरुले व्यवसायीहरु दोहोरो करको मारमा परेको, दर्ता नविकरणमा कानुनी कठिनाई झेल्नुपरेको, स्थानीय तहमा दर्ता भएको व्यवसायलाई बैंक तथा बितीय संस्थाले कर्जा नदिएको लगायत समस्याहरुको उठान गरेका थिए ।
घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख बिश्वनाथ काफ्लेले कार्यालयले अघिल्लो वर्ष सम्पादन गरेको कामहरु र यसवर्षको योजना बारे पावर प्वाईन्टमा प्रस्तुत गरेका थिए । काफ्लेले प्रस्तुत गरेको विवरणमा जिल्लाभरमा ३ हजार ६ सय ४५ उद्योग र ३ हजार १ सय ५० वटा वाणिज्यको फर्म दर्ता भएको जानकारी गराएका हुन् । कार्यालयले सीप बिकासको तालिम प्रदान गरेको, सीप परिक्षण गराएको, प्रविधी हस्तान्तरण, साझा घर निर्माण लगायतको कार्यहरु सम्पन्न गरेको बताए । उनका अनुसार जिल्लामा १३ पटकमा २ सय २२ वटा उद्योग तथा वाणिज्यका व्यवसाय अनुगमन गरिएको समेत जानकारी दिए ।
जिल्ला स्थित सरोकारवालहरुको सहभागितामा घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख बिश्वनाथ काफ्लेको अध्यक्षतामा सम्पन्न गोष्ठी कार्यक्रम कार्यालयका प्रमुख प्रशिक्षक प्रविण बस्नेतले सञ्चालन गरेका थिए भने उद्यम विकास सहजकर्ता हरी बिकले स्वागत मन्तव्यबाट आमन्त्रितहरुलाई स्वागत गरेका थिए । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथी, विशेष अतिथि र अतिथीहरुलाई मायाको चिनो प्रदान गरि कार्यक्रम सम्पन्न गरिएको थियो ।