
भोटेकोशी जलविद्युत आयोजनाले प्रभावितलाई ६ प्रतिशत शेयर वितरण गर्ने

दिनेश दुलाल
पुस ५, (२०८०) तातोपानी । सिन्धुपाल्चोकस्थित माथिल्लो भोटेकोशी जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका वासिन्दालाई ६ प्रतिशत शेयर वितरण गर्ने भएको छ ।
आयोजनाले स्थानीय प्रभावितसंग शेयर दिने सन्दर्भमा सम्झौता भएको करिब ९ वर्ष पछि ६ प्रतिशत शेयर वितरण गर्न लागेको हो ।
आयोजनाले स्थानीय प्रभावितलाई केही दिनमै शेयर वितरण गरिने भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाले जानकारी दिए ।
‘बिगत लामो समय देखि माथिल्लो भोटेकोशी पावर कम्पनीद्वारा भोटेकोशी बासीलाई वितरण गर्ने भनिएको ६% शेयर विविध कारणवश वितरण हुन सकेको थिएन, हामी निर्वाचित भएर आएदेखि सम्बन्धित निकायसँग निरन्तर गृहकार्यमा थियौं, फलस्वरुप हामी सो कार्यको अन्तिम चरणमा पुगेका छौं’, पालिका अध्यक्ष शेर्पाले भने ।
प्रभावित बासिन्दालाई ६% शेयर पुसको अन्तिम सम्म वितरण गरिसक्ने उनले जानकारी दिए । ‘प्रभावितहरुलाई जलविद्युत आयोजनाले सिधै वितरण गर्न नमिल्ने रहेछ, त्यसको लागि हामी कम्पनी दर्ता गरेर वितरण गर्छौ’, शेपाले भने । उनका अनुसार भोटेकोशी गाउँपालिकाकै अगुवाईमा कम्पनी दर्ता गर्नुपर्नेछ, उक्त कम्पनीले भोटेकोशी पावर कम्पनीसंग सम्झौता गर्नेछ । त्यसपछि मात्रै स्थानीय प्रभावितलाई शेयर वितरण गरिने छ ।
प्रभावित स्थानीयलाई शेयर दिने सन्दर्भमा २०७१ सालमा तत्कालिन सिन्धुपाल्चोकका पाँच दल र आयोजनाबीच राती ११ बजे यस्तो सम्झौता भएको थियो । त्यसको ठिक ९ वर्ष पछि बल्ल स्थानीय प्रभावितले शेयर पाउने भएका हुन् । त्यतिबेला साउन १७ गते गएको भिषण जुरे पहिरोले आयोजनाको प्रशारण लाइनका टावरहरु ध्वस्त भएका थिए भने भोटेकोशी बाढीले आयोजनाको ड्याममा क्षति पु¥याएको थियो । त्यहि मौकामा स्थानीय प्रभावितले आफ्ना माग पुरा नभएसम्म आयोजनाको पुनर्निमाण हुन नदिने अडान राख्दै आन्दोलन चर्काएका थिए ।
तर दुई पक्षबीच सम्झौता भएपछि एकसातामै आयोजनाको टावर पुनर्निर्माण कार्य सुरु भएको थियो । आयोजना पुनर्निर्माणका लागि स्थानियलाई सहमतिमा ल्याउन भने तीन महिना भन्दा बढी समय लागेको थियो ।
पाँच दलको सक्रियतामा भोटेकोशी सरोकार संघर्ष समिति गठन गरेर २५ प्रतिशत शेयर माग गर्दै आयोजना पुननिर्माणमा अवरोध पु¥याउँदै आएका थिए । उनीहरुले २५ प्रतिशत शेयर माग गरेपनि अन्तिममा ६ प्रतिशतमा सहमति जनाएका हुन् ।
यसको अलवा प्रभावित साविक दुई गाविस तातोपानी र फुलपिङ कट्टीलाई प्रतिमेगावाट १ लाख रुपैयाँको दरले ४५ लाख रुपैयाँ वाषिर्क रुपमा उपलब्ध गराउने सहमति भएको थियो ।
जसअनुसार साविक दुई गाविसले वाषिर्क साढे २२ लाख रुपैयाँका दरले रकम पाउने भएका थिए भने साविकका अन्य ७ गाविसलाई त्यसको आधा साढे २२ लाख रुपैयाँ वाषिर्क रुपमा उपलब्ध गराउने सहमति भएको थियो ।
आयोजनाका तत्कालिन प्रमुख कार्यकारी अधिकृत नरेन्द्र प्रजापतिसहित पाँच दलका स्थानिय नेताहरु, संघर्ष समितका अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगायतले आयोजना पुननिर्माण गर्न दिने सम्झौतामा हस्ताक्षर गरेका थिए ।
सम्झौतामा हस्ताक्षर गर्ने पाँच दलका नेताहरुमा काँग्रेसका तर्फबाट सभासद मोहन बहादुर बस्नेत, एमालेका पोलिब्यूरो सदस्य अरुण नेपाल, तत्कालिन एमाओवादीका जिल्ला अध्यक्ष माधव सापकोटा, राप्रपाका सभासद रमेश कुमार लामा र नेकपा–माओवादीका दावा तामाङ रहेका थिए ।
४५ मेगावाट क्षमताको यस योजना बन्द हुँदा मुलुकमा डेढ घण्टा लोडसेडिङ बढेको थियो भने बन्द अवस्थामा रहँदा आयोजनालाई दैनिक करिव ८६ लाख रुपैयाँ घाटा भइरहेको थियो । पुनर्निर्माणका लागि त्यतिबेला करिब ७ करोड रुपैयाँ खर्च भएको आयोजनाको भनाई छ ।