जलविरेमा गतिलो खेलमैदान बिनानै राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता
पुष ५, जलविरे । बलेफी गाउँपालिका–१ जलविरेमा रहेको आनन्द माध्यामिक विद्यालयमा बिहिबार पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु हुँदै थियो । कार्यक्रमका प्रमुख बागमति प्रदेश सदस्य सरल सहयात्री पौडेल थिए । कार्यक्रम सुरु हुनुभन्दा अगाडि पालिका अध्यक्ष गंगाहादुर तामाङसंगै विद्यालय तर्फ जान लागेका सांसद पौडेलले खेलकुद प्रतियोगिता स्थल काहाँ हो ? भनेर सोधे । जवाफमा पालिका अध्यक्ष तामाङले यहिँ हो भनेर विद्यालयको प्राङग्रणतिर देखाए । विद्यालयको प्राङग्रणमै खेलमैदान थियो । कार्यक्रम स्थल पनि त्याँहि राखिएको थियो । विद्यालयको एकछेउमा बालबालिकाहरु खेलिरहेका थिए । औपचारिक कार्यक्रम संगै कार्यक्रमका प्रमुख अतिथि बागमति प्रदेश सदस्य पौडेलले ज्याबलिङ थ्रो गरेर प्रतियोगिताको सुरुवात गरे ।
विद्यालयको खेल मैदान साँघुरो नै भए पनि वलेफी गाउँपालिकाले आनन्द मावि जलविरेमा राष्ट्रपति रनिङ शिल्डको प्रतिस्पर्धाको आयोजना गरेको थियो । औपचारिक कार्यत्रममा समेत प्रमुख अतिथि लगाएत स्थानीय सरकार प्रमुखले समेत खेलकुद मैदान अभाव भएको चिन्ता जाहेर गरेपनि यसरी स्रोत सुनिश्चित गरेर बजेट पारिन्छ भनेर प्रतिवद्वता जनाएनन । प्रमुख अतिथि पौडेलले योजना र विकासको सबाल भन्दा पनि विपक्षी राजनैतिक दलहरु प्रति नै केन्द्रित गरे । कार्यत्रमका अध्यक्षता गरिरहेका पालिका अध्यक्ष तामाङले पालिकाले सबै विद्यालयमा खेलकुद मैदानको लागि पहल गरिरहेको बताए ।
त्यस्तै कार्यक्रममा विभिन्न वडाका वडाअध्यक्ष, शिक्षा तथा खेलकुद शाखा प्रमुख सल वहादुर पाण्डे लगाएतले सम्बोधन गरेका थिए । स्थानीय बुद्विजिवी गोकर्णदास श्रेष्ठले जलबिरेमा खेल मैदान तयार गर्न यस भेगका सम्पूर्ण जनप्रतिनिधि तथा समाजसेवीहरु लाग्न पर्ने बताए । खेल मैदानको लागि जमिन खोजेर वजेटको व्यवस्था गर्नपर्ने तर्क राखे । विद्यालयको कुनै एउटा प्रध्यानध्यापकले मात्र चाहेर नहुने बताउँदै सवै पक्ष, पार्टी, सरकार मिलेर आँटिए मात्र सम्भव हुने उनको भनाई छ । बलेफी गाउँपालिकाको आर्थिक सहयोगमा पालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता –२०८० बलेफी –१ आन्नद मा.वि जलविरेमा बिहिबार सुरु भएर शुक्रबार समापन गर्ने आयोजक विद्यालय आनन्द मावि प्रशासनले बताएको छ ।