एमाले अध्यक्ष ओलीलाई बलेफी गाउँपालिकाले ग¥यो भव्य स्वागत

मंसिर २५ खाडीचौर । ‘समृद्विको लागि सङकल्प यात्रा’ अभियान लिएर पूर्व–पश्चिम देश दौडाहामा हिँडेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बेलेफी गाउँपालिकाले भव्य स्वागत गरेको छ ।

सिन्धुपाल्चोक जिल्लाको खाडिचौर पुगेका अध्यक्ष ओलीलाई बलेफी गाउँपालिकाले मायाँको चिनो दिएर भव्य स्वागत गरेको हो । ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान अन्तरगत आज ओली बलेफी गाउँपालिकाको खाडीचौर पुगेका थिए ।

खाडीचौरमा स्वागतको प्रतिक्षामा रहेका गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले अध्यक्ष ओलीलाई मायाको चिनो दिएर स्वागत गरेको बलेफी गाउँपालिकाका कर्मचारी नारायण पराजुलीले जानकारी दिए । उनका अनुसार सोमबार विहान जिल्लाको बलेफी गाउँपालिकामा पर्ने खाडीचौर बजारमा पुगेका ओलीलाई बलेफी गाउँ पालिकाका अध्यक्ष तामाङले न्यानो स्वागत गर्दै बलेफी गाउँपालिका भरीको पर्यटकीय स्थल अंकित मायाको चिनो समेत दिएका थिए । तामाङ माओवादीबाट निर्वाचित पालिका अध्यक्ष हुन् । ओलीलाई स्वागत गरेपछि उनको सचिवालयले ‘तुच्छ र फोहोरी राजनीतिको अन्त्य गरौं, उच्च राजनीतक संस्कारको विकास गरौं’ भनेर मायाको चिनो प्रदान गरेको तस्बिर समेत सार्वजनिक गरेको थियो । अध्यक्ष तामाङले उनलाई यात्रा सफलताको शुभकामना समेत दिएका थिए ।

एमालेले बैतडीको झुलाघाटबाट यही मंसिर १४ गते सुरु गरेको अभियान सिन्धुपाल्चोकको खाडीचौर पुगेको हो । खाडीचौरमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले, एमालेले मात्रै देशको रक्षा गर्न सक्ने दावी गर्दै अब दिगो ढंगले देशको रक्षा गर्न र समृद्ध मुलुक बनाउन एमालेको बहुमतको सरकार आवश्यक रहेको बताए ।
यसैविच सिन्धुपाल्चोक पुगेका ओलीलाई माओवादी बागमती प्रदेश अध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले सुकुटेमा खादा लगाएर स्वागत गरेका छन् ।