छोटो अवधिमै मोडेल सहकारी ! पशुपालकलाई ५० लाख लगानी गर्ने घोषणा (भिडियो सहित)

दिनेश दुलाल
मंसिर २३, ठोकर्पा (सिन्धुपाल्चोक) । जिल्लाको सुनकोकोशी गाउँपालिका–२ मा रहेको पिङडाँडा साना किसान कृषि सहकारीको ८ औं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न गरेको छ । शनिबार सम्पन्न साधारणसभा तथा अधिवेशनको सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले उदघाटन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि रहेका पालिका अध्यक्ष तिमिल्सिनाले पिङडाँडा सहकारीले छोटै अवधिमा उल्लेख्य सफलता हाँसिल गरेको प्रति खुलेर प्रशसा व्यक्त गरे । पिङडाँडा लगाएत केही सहकारीका राम्रा गतिविधिका कारण युवाहरुमा व्यवसाय गर्ने जाँगर पलाएको स्मरण सुनाउँदै पालिकाले समेत पशुपालन व्यवसायी गर्न चाहने किसानलाई एककरोड १५ लाख संघको विशेष अनुदान र एककरोड पालिकाले गरेर सुनकोशी गाउँपालिकाले दुईकरोड १५ लाख छुट्याएको बताए । पिङडाँडाले पशुपालक कृषकहरुको लागि ५० लाख लगानी गर्ने घोषणाले आफू उत्साहित भएको बताउँदै पालिका अध्यक्ष टपिन्द्र तिमिल्सिनाले पिङडाँडासंग पालिकाले सहकार्य गरेर अगाडी बढ्न चाहेको बताए ।

कृषिलाई प्राथमिकता दिएर पालिकाले बजेट बाँडफाँड गरेको उनाउँदै उनले पशुपालक किसानले ५० प्रतिशत रकम खर्च गर्न सके पालिकाले ५० नै प्रतिशत अनुदान दिने ठोकुवा गरे । तर पल्लोघरको गाईभैंसी वल्लो घरमा किनेर फर्जि डकुमेन्ट बनाएर पैसा लैजाने परिपाटीलाई पालिकाले खारेज गरिदिएको समेत उनले सुनाए । उन्नत जातका गाईभैंसी पाल्न समेत सुझाव दिंदै किसानको पशु बीमा गराउनको लागि ८० प्रतिशत संघीय सरकारको रहेको र बाँकी २० प्रतिशतमा १० प्रतिशत पालिकाले हालिदिने निर्णय भएको उनले जानकारी दिए ।
गाउँपालिकाले संकलन केन्द्रको लागि ठोकर्पालाई केन्द्रित गरेर बजेट परेको समेत समेत बताए । कार्यक्रममा पालिका अध्यक्ष तिमिल्सिनाले गाउँपालिकाको प्रशासनिक भवन सबैलाई पायक पर्ने ठाउँमा बनाउन पालिकाले जग्गा दाताहरुको लागि सूचना आह्वान गरिएको समेत जानकारी दिए ।

कार्यक्रमका पालिकाकी उपाध्यक्ष कान्छी लामाले सुनकोशी गाउँपालिकाले पहिलो प्राथमिकता कृषि क्षेत्रलाई प्राथमिकता दिएको दावी गर्दै यस आर्थिक वर्ष पालिकाले २ करोड भन्दा बढी बजेट छुट्याईएको बताईन । कार्यक्रममा गाउँपालिका पूर्व अध्यक्ष श्रवणकुमार जिसी, १ र २ नम्बर वडाका वडाअध्यक्ष, कृषि सहकारी संघका प्रतिनिधि लगाएतले शुभकाना मन्तव्य राखेका थिए ।

आठौं वार्षिक साधारणसभा संस्थाको अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष हिमबहादुर आचार्यले सानो समुह बनाएर सहकारीमा रुपान्तरण भएको ८ वर्षमै सहकारीले निकै फड्को मारेको दावी गरे । २०७२ सालमा डिभिजन सहकारी कार्यालय धुलिखेलमा दर्ता भएर २८ जनाले एकसय बचत बाट सुरु गरेको उक्त सहकारीमा हाल ११ सय भन्दा माथि शेयर सदस्य आवद्व भएको तथा करोडौं सम्पति र करोडौंको लगानी गर्ने हैसियतमा पुगेको अध्यक्ष आचार्यको भनाई छ । सुनकोशी २ मा मुख्य कार्यालय रहेको उक्त सहकारीको १, २, ३ र ५ नम्बर वडाबासीलाई सेवा दिंदै आएको छ ।

रैथाने बाली संरक्षणमा विशेष प्राथमिकता दिएर बीउ बैंक समेत स्थापना गरेको उक्त सहकारीले दुग्ध व्यवसाय गर्ने कृषकहरुलाई पायक पर्नेगरी ३ स्थानमा भ्याट सहि डेरी संचालन गरिरहेको उनले जानकारी दिए । सहकारीले ४ बर्षमा मात्रै किसानहरुलाई १५२ वटा मिनिटेलर वितरण गर्नुको साथै कर्नसेलर, कोदो कुट्ने मेशिन, प्लाष्टिक पोखरी, टनेला, स्प्रे लगाएत कृषि औजारहरु समेत ५० प्रतिशत अनुदानमा वितरण गरिएको जानकारी दिए । पशुपालन, कुखुरा पालन, तरकारी तथा फलफूल व्यवसाय, पुष्पखेती, साना तथा मझौला उद्योगहरु लगाएत स्थानीय जनताको आयआर्जनको माध्यम बनाएको सहकारीले दुध उत्पादनलाई बढवा दिन पशुपालन कर्जामा किसानलाई ५० लाख सम्म सहुलियत लगानी गर्ने घोषणा गरेको छ ।

त्यस्तै सहकारीले एकघर एक सदस्यका साथ साना किसान बैंकसंग आवद्व भई साना किसानको कार्यक्रम सञ्चालन गर्ने लगाएत एकदर्जन भन्दा बढीका प्रस्तावहरु साधारणसभाबाट पास गरिएको सहकारीका उपाध्यक्ष प्रकाश विकले जानकारी दिए । सहकारीमा आवद्व सञ्चालक समिति एकरुपमा रहेका कारण सहकारीले छोटै अवधिमा उल्लेखनीय काम गरेको उनको भनाई छ ।

सहकारीको आफ्नै भवन रैकरडाँडामा भएको साधारणसभामा शेयर सदस्यहरुलाई समुहगत प्रतिनिधित्व गराईएको थियो । नीति नियम बनाउन सहकारी सदस्यहरुलाई समेत जिम्मेवारीबोध गराउने उद्देश्यले समुहगत छलफलद्वारा प्रतिनिधिमुलक गराउने प्रचलन अन्य सहकारीको तुलानमा साना किसान सहकारीको नयाँ अवधारणा हो ।

सहकारीको ८ औं साधारणसभाको अवसरमा सहकारीले पूर्व सञ्चालक १३ जनालाई सम्मानपत्र तथा ८ जनालाई पुरस्कार प्रदान गरिएको कार्यक्रम सञ्चालक तथा सहकारीका सचिव बिवश दाहालले जानकारी दिए । उनका अनुसार बाल, शेयर, असल ऋणी, उत्कृष्ट कृषक तथा उत्कृष्ट दूग्ध कृषक आदिलाई पुरस्कार प्रदान गरिएको हो ।

यसैबीच सहकारीको तेस्रो अधिवेशनबाट केही फेरबदल बाहेक पुरानै कार्यसमिति चयन भएको छ । जसमा अध्यक्ष हिम बहादुर आचार्य, उपाध्यक्ष नवीन मल्ल, सचिब बिवस दाहाल, कोषाध्यक्ष गोबर्धन रोक्का रहेका छन् भने सदस्यहरुमा सिर्जना केसी, निल प्रसाद न्यौपाने, जय बहादु शाही, इन्द्र बहादुर पहरी, जालबहादुर खत्री, कृष्ण बहादुर बुढाथोकी, राधिका जिसी, नेत्रकुमारी जिसी, गोमा जिसी रहेका छन् । त्यसैगरी लेखा समितिमा संयोजक रोशन न्यौपाने रहेका छने भने सदस्यमा कमल क्षेत्री, रुपा बरुवाल रहेका छन् ।