फुलपिङकोट माविलाई प्रविधिमैत्री विद्यालय बनाईने !

मंसिर २१, बलेफी । जिल्लाको बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङ ‘प्रवेश’ ले फुलपिङकोट माविलाई प्रविधिमैत्री विद्यालय बनाउने उदघोष गरेका छन् । गाउँपालिका–२ फुलपिङकोटमा रहेको फुलपिङकोट माविको ६१ औं वार्षिकोत्सब तथा अभिभावक भेला तथा पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रमको प्रमुख अतिथिका रुपमा पुगेका पालिका अध्यक्ष लामाले उक्त उदघोष गरेका हुन् ।

कार्यक्रमको समुदघाटन गर्नुहुँदै पालिका अध्यक्ष गंगाबहादुर तामाङ तथा उपाध्यक्ष सरु लामा

बुधबार भएको वार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष लामाले विद्यालयलाई प्रविधिमैत्री विद्यालय साथै खेलमैदान निर्माणको लागि समेत आवश्यक स्रोतको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् । ‘यो विद्यालयलाई प्रविधिमैत्री विद्यालयको साथै खेलमैदान समेत मेरो कार्यकालभित्र पुरा गर्नेछु’, अध्यक्ष तामाङले भने । विगतमा भएको केही छिटपुट शैक्षिक अबरोधको प्रसंग कोट्याउँदै अध्यक्ष तामाङले आफू शैक्षिक क्षेत्रको विकासको लागि कुनै वाधक नबनी समन्वयत्माक भूमिका निर्वाह गर्न चाहेको बताए ।

कार्यक्रमकी विशेष अतिथि तथा बलेफी गाउँपालिकाका उपाध्यक्ष सरु लामा (तामाङ ), वडा अध्यक्ष लगाएतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक प्रतिनिधि, अभिभावक तथा विद्यार्थीको बाक्लो उपस्थितिका बीच भएको थियो । बालबालिकाहरुले शैक्षिक प्रर्दशनी तथा साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । सोही अवसरमा शैक्षिक क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

त्यस्तै वार्षिकोत्सव सन्दर्भमा विभिन्न खेलकुद तथा शैक्षिक गतिविधिमा भाग लिएका बालबालिकाहरुलाई पुरस्कृत समेत गरिएको विद्यालयले जनाएको छ । विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाको बारेमा विद्यालयका प्रध्यानध्यापक राजेशकुमार थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिककोत्सव कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर थापाले गरेका थिए ।