
धनी पूर्जा नहुँदा सिक्रेका किबी व्यवसायीले अनुदान पाएनन्

दिनेश दुलाल
मंसिर २१ (२०८०) सिक्रे (सिन्धुपाल्चोक) । लिसंखुपाखर गाउँपालिका वडा नम्बर ४ सिक्रेका शशिकुमार शाक्य गाउँपालिकाकै सबैभन्दा ठूला किबी व्यवसायी हुन् । झण्डै २ सय रोपनी क्षेत्रफलमा उनको किवी व्यवसाय छ ।
पालिकाभरीकै सबैभन्दा अब्बल र मिहिनती किसान हुन शाक्य । सिन्धुपाल्चोक जिल्लामै पहिलो अलैंची व्यवसाय सुरु गरेर चर्चा कमाएका शाक्यले पछिल्लो समय किबी व्यवसाय सुरु गरेका छन् । तर उक्त व्यवसायको लागि उनले न त प्रयाप्त लगानी गर्न सकेका छन् न कतैबाट अनुदान नै पाएका छन् । उनले लगानी गर्न र अनुदान नपाउनुको कारण जमिन र पँहुच नभएर भने होईन । कारण उनी धनी पूर्जा बिनाका जमिनका मालिक हुन् । पुस्तौं देखि सयौं रोपनी जग्गामा भोगचलन गर्दै आएका उनी जस्तै ६० घर सिक्रेबासीले जग्गा धनी पुर्जा नपाउँदा बैंकमा जग्गा धितो राखेर कुनै व्यवसाय गर्न ऋण पाएका छैनन् । राज्यले दिने हरेक अनुदानमा समेत आफूहरु बन्चित हुनुपरेको व्यवसायी शाक्य बताउँछन् ।
बागमति प्रदेश सरकारले १३ जिल्लाका किबी व्यवसाय गर्ने किसानहरुको लागि दुईकरोड अनुदान दिन आह्वान गरेपनि धनी पूर्जा नहुँदा शाक्यले हेटौंडा पुगेर रित्तो फर्कनु परेको दुःखेसो पोखे ।
उनका अनुसार अनुदानको लागि प्रदेश सरकारले मंसिर १३ गते भित्रमा किबी व्यवसायीहरुलाई आवेदन दिन आहन गरेको थियो । सोही आह्वान अनुसार समयअवधि भित्रै उनका छोरा किरण शाक्य गाउँपालिकाको सिफारिस सहित सबै कागज प्रक्रिया मिलाएर १० गते नै हेटौंडा पुगेका थिए । निवेदनमा उनले फार्म दर्ता गरेको कागजात, जग्गाको निस्सा र स्थानीय सरकारलाई कर तिरेको रसिद संलग्न गरेका थिए । तर निवेदन बुझ्ने बागमति प्रदेश अन्र्तगत कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विकास निर्देशनालय हेटौंडाले जग्गा धनी पुर्जा नभई निवेदन नै लिन नमानेको किरण शाक्यले सिन्धुज्वालालाई बताए ।
उनका अनुसार उनले निवेदन सहित संस्था दर्ता तथा नविकरण गरेको प्रमाणपत्र, संस्थाको स्थायी लेखा नम्बर तथा करचुक्ता, अनुसूचि ३ अनुसारको प्रस्ताव, अनसूचि ४ अनुसारको प्रतिवद्वतापत्र र स्थानीय तहको सिफारिस समावेश गरेका थिए । तर धनी पूर्जा नभएपछि आफ्नो निवेदन मन्त्रालयले नलिएको उनले सुनाए । सिक्रे गाउँसिंगै धनी पुर्जा नहुँदा राज्यबाट अपहेलित हुनपरेको व्यवसायी शाक्य बताउँछन् । ‘ठूलो व्यवसाय केही गरौं भने धनी पुर्जाको कारणले ऋण पाईदैन न त कुनै अनुदान नै आउँछ’, शाक्यले भावुक हुँदै भने । सिक्रेबासीको भावनालाई जुनसुकै दल वा सरकार आएपनि सम्बोधन गर्न नसकेको उनको भनाई छ ।
किबी व्यवसायीहरुको लागि पालिकाले दिन सक्ने सामन्य अनुदान बाहेक ठूला परिमाणका अनुदान जग्गाधनी पुर्जा नभएको कारण दिन नसकिएको लिसंखुपाखर गाउँपालिका अध्यक्ष राजु लामाको भनाई छ । सिक्रेबासीको समस्या आफूले माथि सम्म पु¥याएपनि केन्द्रीय सरकारले कुनै सुनुवाई नगरेको उनको भनाई छ । पालिकाको तर्फबाट आवश्यक सहयोग र समन्वय गरिरहेको उनको दावी छ । स्मरण रहोस सिक्रे किबी खेतीको लागि गाउँपालिकाकै पकेट क्षेत्र मानिन्छ । यहाँ हजारौं केजी किबी उत्पादन हुन्छ ।