
झण्डै १२ बर्षपछि चौतारा–नवलपुर–मेलम्ची सडक कालोपत्रे हुँदै

मंसिर १६, चौतारा । सिन्धुपाल्चोक जिल्लाको चौतारा–नवलपुर–मेलम्ची सडक खण्ड झण्डै १२ वर्ष पछि कालोपत्रे हुने भएको छ । २०६८ सालमा ग्रामिण सडक पूर्वाधार विकास कार्यालय (ट्रिपल आर) ले सडक चौडा तथा नाली, ग्राभेल सहित निर्माण गरेको १२ बर्ष पछि सडक कालोपत्रे हुन लागेको हो ।
चौतारा देखि मेलम्ची सम्मको सडक खण्ड अन्तर्गत हाल चौतारा देखि झ्याडी सम्मको ८.२ किलोमिटर सडकको कालोपत्रे गर्ने कार्यको शुरु हुने भएको छ । उक्त कार्यको लागि शिद्वबाबा कन्स्ट्रक्सन प्राली शान्तिनगर ३१ काठमाडौंले २६ करोड ८२ लाख ९३ हजार २ सय साठीमा २ वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको छ ।
शुक्रबार एक कार्यक्रमका बिच बागमती प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलाल सरदले उक्त सडक खण्ड कालोपत्रे कार्यको शिलान्यास गरेका हुन् ।
यस्तै मेलम्ची–नवलपुर–चौतारा सडकखण्ड अन्तर्गत मेलम्ची क्षेत्रमा कालोपत्रे गर्नकालागि प्रकृया समेत सुरु भईसकेको छ । त्यता मेलम्ची नगरपालिकाका मेयर आईतमान तामाङले उदघाटन गरेका थिए ।
सो बाटोको काममा ग्याविन वाल, मेसिनरि वाल, पल्मब वाल र आवश्यकता अनुसार कटिङ्ग र कालोपत्रेको काम हुने सम्झौता भएको छ । बागमती प्रदेश सरकारबाट विनियोजित बजेटको ठेक्का मार्फत सो निर्माण कार्य हुन लागेको सडक कालोपत्रे शिलान्यास कार्यक्रममा उपप्रमुख उमा प्रधान, वडा नं १० का वडाअध्यक्ष अमृत खनाललगायत स्थानीयहरुको उपस्थिती रहेको छ ।
मेलम्ची –बगुवा खण्डको ५ किलोमिटर लामो उक्त सडक २०८२ जेठ २८ मा निर्माण सम्पन्न गर्नेगरी ॐ वुद्ध नयाँ युग जेभीले निर्माणको ठेक्का पाएको मेयर तामाङले बताए । पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकबाट कार्यान्वयन गर्ने सो सडक कालोपत्रेका लागि १७ करोड ६६ लाख ६९ हजार ३ सय ६४ रुपैयाँमा टेन्डर परेको निर्माण व्यवसायी दामोदर कार्कीले बताएका छन् ।