बागमति प्रदेश सरकारद्वारा सिन्धुपाल्चोकमा स्कुल बस
मंसिर ११, मेलम्ची । बागमति प्रदेश सरकारद्वारा सिन्धुपाल्चोकका विभिन्न विद्यालयहरुलाई स्कुल बस उपलब्ध गराईएको छ ।
बागमती प्रदेश सामाजिक बिकास मन्त्रालयको सहयोगमा उपलब्ध गराईएको बस आईतबार इन्द्रेश्वरी माध्यमिक विद्यालयलाई हस्तन्तरण गरिएको छ । मेलम्ची नगरपालिका–११ स्थित टारमा रहेको सो विद्यालयलाई बागमती प्रदेशका भौतिक विकास तथा पुर्वाधार मन्त्री युवराज दुलाल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले संयुक्त रुपमा उदघाटन गरी विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
विद्यालय बस हस्तान्तरण गर्दै मन्त्री दुलालले सामुदायिक विद्यालयलाई गुणस्तरीय साथसाथै सुविधा सम्पन्न बनाउने उद्देश्यले स्कुल बस कार्यक्रम सहयोग गरिएको बताए । आफु सामाजिक विकास मन्त्री हुँदा उक्त योजना बनाएको बताउँदै जिल्लाका केही विद्यालयहरुमा सञ्चालन गरिएको समेत बताए । उनका अनुसार तेर्से माध्यमिक विद्यालय, कुविन्डेको सेती देवी मावि र सानोसिरुवारीको सिद्विगणेश माविलाई बस हस्तान्तरण भईसकेको छ । त्यस्तै थाङ्पाल भ्याली पाँचपोखरी, लागर्चे, र चौतारालाई समेत बस उपलब्ध गराइएको बताए ।
यस्तै बागमती प्रदेशका ३० विद्यालय नमुना बनाउने कार्यक्रम अनुसार इन्द्रेश्वरी मावि पनि परेकाले यस विद्यालयलाई गुणस्तरीय शैक्षिक केन्द्रको रुपमा अगाडि बढाएको बताए । मन्त्री दुलालले भौतिक पुर्वाधार, शैक्षिक पूर्वाधार, स्वास्थ्यका पुर्वाधार लगायत हरेक क्षेत्रको विकास गर्नका लागी योजनावद्व हिसाबले अगाडि बढेको भन्दै यस्को लागी स्थानीय तह र केन्द्र सरकार संग निरन्तर सहकार्य भइरहने बताए ।
कार्यक्रम मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले विद्यालयमा बाह्रै महिना बस संचालनका लागी नगरले सहयोग गर्ने प्रतिबद्धता जनाए । बस संचालनका लागी थुप्रै चुनौतीहरु रहेको स्मरण गर्दै प्रमुख तामाङले प्रदेश सरकार संग सहयोगको लागी आग्रह गरे । विद्यालयका जेष्ठ सदस्य इन्द्रमणि दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक देवि श्रेष्ठले विद्यालयमा सहयोगका लागी धन्यवाद व्यक्त गरिन ।